वीरगन्ज :

त्रिशला रेस्टुराँमा कार्यरत युवती मृत फेला परेको घटनालाई निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन

श्रेणी : BANNER

4 weeks
Pradeep Sah
2.8kViews
1744 Shares

वीरगंज (पर्सा), २ पुस । वीरगंज महानगरपालिका–१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीया युवती मृत फेला परेपछि घटनाले गम्भीर रूप लिएको छ । घटनालाई शंकास्पद भन्दै पीडित परिवार र स्थानीयवासीले निष्पक्ष छानबिनको माग गर्दै बुधवार वीरगंजमा प्रदर्शन गरेका छन् ।

मंसिर २७ गते शनिवार त्रिशला रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा संघको धर्मशालाको कोठा नम्बर १०५ मा मृत अवस्थामा फेला परेकी युवती पर्सागढी नगरपालिका–३ झाबराह टोलकी सुनिता स्यान्बो भएको खुलेको छ । उनको मृत्युलाई रहस्यमय भन्दै परिवारका सदस्यहरूले सत्यतथ्य छानबिन र न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् ।

सुनिताको हत्या भएको दाबी गर्दै परिवारजनले घटनामा संलग्न दोषीहरू पहिचान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै, उनी कार्यरत त्रिशला रेस्टुराँले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत उनीहरूले अघि सारेका छन् ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठनको नेतृत्वमा सुनिताका परिवारका सदस्य तथा स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न माग गरेका छन् । त्यसपछि ठूलो संख्यामा र्‍याली निकाल्दै प्रदर्शनकारीहरू जिल्ला प्रहरी कार्यालय पर्सासम्म पुगेका थिए।

यस विषयमा पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सुनिताको मृत्यु आत्महत्या जस्तो देखिएको बताएको छ । तर, घटनाको वास्तविक कारण विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पुष्टि गर्न सकिने पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले जानकारी दिए । घटनामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपनि उनीहरूको पहिचान र वर्तमान अवस्थाबारे भने प्रहरीले खुलाएको छैन ।

उता, घटनास्थलमा पुगेका स्थानीयवासी र वडा सदस्यहरूले शव उठाउने क्रममा नियम विपरीत काम गरिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, जनप्रतिनिधि र सम्बन्धित निकाय नपुग्दै शव खाटमा राखिएको थियो, जसले घटनाप्रति थप शंका उत्पन्न गरेको छ ।

त्रिशला रेस्टुराँ स्थानीय युवा अनमोल कुमारले संचालन गरेका छन् । प्रहरीले उनलाई घटनासँग सम्बन्धित शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको जनाएको भएपनि हालसम्म पक्राउ भने गरिएको छैन । घटनाले वीरगंजमा चासो र आक्रोश बढाएको छ भने पीडित परिवारले निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत न्याय पाउने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *