
श्रेणी : BANNER
बीरगन्ज,२२ असोज । बीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। बुधबार आयोजित जेनजी युवाहरूको भेलामा सहभागी हुँदै उनले पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका हुन्।
यसअघि जेनजी आन्दोलनका क्रममा नेकपा एमाले वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएको सार्वजनिक गरेका परागले असोज ६ गते नै एमालेको साधारण सदस्यबाट पनि राजीनामा दिइसकेको जानकारी दिए। “त्यो कुरा मिडियामा आएको थिएन, त्यसैले आज सार्वजनिक गरें,“ उनले भने।
घडिअर्वा पोखरी पार्कमा आयोजित जेनजी युवाहरूको भेलामा बोल्दै परागले सुशासन, जवाफदेहिता र परिवर्तनको माग बोकेको पुस्ता (जेनजी) लाई एमाले नेतृत्वबाट कुनै सकारात्मक संकेत नआएको भन्दै आफूले पार्टी परित्याग गरेको बताए। उनले हाल कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट गर्दै अबको यात्रा जेनजी आन्दोलनसँगै रहने बताए।
उता नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको राजीनामाबारे कुनै औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्। “लिखित रूपमा उहाँले राजीनामा दिनुभएको छैन,“ शर्माले भने, “यसअघि पनि सामाजिक सञ्जालबाट राजीनामाको कुरा सुनिएको थियो। लिखित रूपमा आएपछि मात्रै त्यसबारे पार्टीले निर्णय लिनेछ।“
रामकिशोर सिंह पराग वीरगन्जका स्थानीय राजनीति तथा युवामाझ परिचित नाम हुन्। उनी विभिन्न सामाजिक विषयमा सक्रिय रहँदै आएका छन् र हालको जेनजी आन्दोलनप्रति खुला समर्थन जनाउँदै आएका छन्।


प्रतिक्रिया