
श्रेणी : BANNER
जनकपुर,०८ असोज । आन्दोलनका क्रममा क्षतिग्रस्त भवनको अस्थायी व्यवस्थापनबीच मंगलबार बसेको मधेश प्रदेशसभामा सबै दलका सांसदहरूले संघीयता जोगाउन एकजुट हुने प्रतिबद्धता जनाएका छन्।
प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा, एकीकृत समाजवादीलगायत दलका नेताहरूले संघीयतामाथि भइरहेको प्रहार रोक्न सशक्त कदम चाल्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयतापछि प्रदेशमा विकास र रोजगारी बढेको भन्दै “अब सबै दल एक भएर संघीयता बचाउनुपर्ने समय आएको छ” भने।
तर सरकार नेतृत्व गरिरहेको जनमत पार्टीभित्र भने गहिरो मतभेद देखिएको छ। मुख्यमन्त्री सिंह पद नछोड्ने अडानमा रहँदा दलका नेता महेशप्रसाद यादवसहितका ११ जना सांसद मंगलबार प्रतिपक्षको ड्यासमा बसे। सिंहले गत भदौ २४ गते फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरे पनि औपचारिक रूपमा पद त्याग नगरेपछि दलभित्र विवाद चर्किएको हो।
प्रदेशसभाको प्रवक्ता विपिन ठाकुरका अनुसार जेन–जी आन्दोलनपछिको आगजनीमा करिब ३० करोड क्षति पुगेको भवनलाई कुर्सी, ड्यास र उपकरण भाडामा लिएर अस्थायी रूपमा व्यवस्थापन गरेर बैठक सञ्चालन गरिएको हो।


प्रतिक्रिया