
श्रेणी : प्रदेश
काठमाडौँ,२६ भदाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधान खारेज र संसदको विघटन नभएपनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको बताएका छन्।
उनका अनुसार जेनजी पुस्ताको माग लोकतन्त्रलाई कमजोर पार्ने नभई अझ जनपक्षीय बनाउन लक्षित थियो। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “तर केही घुसपैठियाले लोकतन्त्र समाप्त पार्ने र अस्थिरता निम्त्याउने षड्यन्त्र गर्दैछन्। यो अवसरमा संसद विघटन र संविधान खारेज गरेर लोकतन्त्रको अन्त्य गर्न खोजिएको छ। जेनजी पुस्ताले यसमा सचेत रहनु आवश्यक छ।”
माधव नेपालले लोकतन्त्रको अस्तित्व नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रता समेत जोखिममा पर्ने बताए। यसले भ्रष्ट्राचार र कुशासनविरुद्धका आन्दोलन गर्न समेत असम्भव हुने उनले जोड दिए।
विज्ञप्तिमा भनिएको छ कि जेनजीले उठाएका मागको संवोधन वर्तमान संविधान र संसदभित्रै गर्न सकिन्छ। भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ र उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ। संविधान संशोधनमार्फत जेनजीले चाहेको सुधार लागू गर्न सकिने माधव नेपालले बताए।
उनले शीघ्र संविधान संशोधन गरेर चुनावमार्फत नयाँ जनादेश लिएर सरकार सञ्चालन गर्न सकिने धारणा व्यक्त गरेका छन्।


प्रतिक्रिया