वीरगन्ज :

जिराभवानीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.9kViews
1347 Shares

पर्सा,३० असार । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१, बलुवा टोलमा गएराति भएको भीषण आगलागीमा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। राति करिब ११ बजेको समयमा स्थानीय शेशनाथ मुखिया बिनको घरमा लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएको आगोले छिमेकी जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनका घरहरू समेत दन्किँदा ठूलो क्षति पुगेको हो ।

प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक अवधलाल साहका अनुसार आगलागीमा फुसको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, गरगहना तथा शेशनाथ मुखियाको किराना पसलसमेत पूर्ण रूपमा नष्ट भएको छ । मानवीय क्षति नभए पनि आर्थिक रूपमा ठूलो क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगो लागेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै उद्धार तथा नियन्त्रण कार्यमा खटिएर राति करिब १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
यसैबीच, आगलागीबाट प्रभावित परिवारहरूको अवस्था बुझ्न जिराभवानी गाउँपालिकाका पूर्व वडा अध्यक्ष शेख नुमान आजम आज बिहानै पीडित परिवारहरूको घरमै पुगेका छन् । उनले तत्काल राहतस्वरूप चामल, दाल, नुन, तेललगायत अत्यावश्यक खाद्य सामग्रीहरू वितरण गर्दै पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका छन् ।

स्थानीय तह, प्रहरी प्रशासन र सामाजिक अगुवाहरूको सक्रियतामा राहत र पुनःस्थापनाका प्रयासहरू अघि बढाइएको छ । पीडित परिवारहरूको सहयोगका लागि थप राहत तथा सहयोगको आवश्यकता रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *