
श्रेणी : अपराध
सुनसरी,१६ असार । सुनसरीको दुहबी नगरपालिका–७ स्थित भलुवा सीमाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध चिनी सहित एक वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका अनुसार असार १५ गते राति भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको १३२ बोरा चिनी बरामद गरिएको हो। बरामद चिनीको मूल्य करीब ४ लाख २० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
सशस्त्र प्रहरी सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार को २ त ५२७९ नम्बरको ट्याक्टरमा चिनी लोड गरी ल्याइँदै गर्दा पक्राउ गरिएको भए पनि ट्याक्टर चालक भने फरार भएका छन्।
पक्राउ गरिएको चिनी र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाइएको छ। बरामद ट्याक्टरको मूल्य १६ लाख रुपैयाँ र चिनीको मूल्य ४ लाख २० हजार रुपैयाँ गरी कुल भन्सार मूल्य २० लाख २० हजार रुपैयाँ बराबर कायम गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया