
श्रेणी : प्रदेश
राजविराज,२० जेठ । सडक निर्माणमा पटकपटक ढिलाइ भएपछि राजविराजका स्थानीय युवाहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन्। मंगलबार बिहानदेखि राम मन्दिरदेखि नेता चोकसम्मको सडक तत्काल कालोपत्र गर्नुपर्ने माग गर्दै उनीहरूले राजविराजको मुख्य बजार क्षेत्रमा चक्काजाम गरेका हुन्।
युवाहरूले नेता चोकमा उभिएर सडक अवरुद्ध पार्दा बजार क्षेत्रको आवागमन प्रभावित बनेको छ। अत्यावश्यकबाहेकका सबै सवारीसाधन रोकिएका छन् भने केहीले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।
यसअघि पनि सो सडकको खस्ताबस्ताबारे युवाहरूले आन्दोलन गर्दै चक्काजाम गरेका थिए। त्यसक्रममा नगरपालिकासहित निर्माण कम्पनीले जेठ २० गतेभित्र सडक कालोपत्र गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। तर त्यो म्यादसम्म पनि काम नभएपछि स्थानीयहरू पुनः सडकमा उत्रिएका हुन्।
आन्दोलनमा सक्रिय युवा नेता खेलानन्द दासले भने, “हामीले समय दिएका थियौँ, आश्वासन पनि सुन्यौं तर काम भएन। अब सडक निर्माण नभएसम्म चक्काजाम जारी रहनेछ।”
यता नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत प्रविनले समस्या समाधानका लागि पहल भइरहेको दाबी गरिन्। उनले भनिन्, “निर्माण कम्पनीसँग लगातार समन्वय गरिरहेका छौँ। अब काम तत्काल सुरु गराउन प्रयास गरिन्छ।”


प्रतिक्रिया