
श्रेणी : मधेस
जनकपुर,१२ जेठ । जनकपुरधाममा दुई साँढेबीचको भिडन्तले एक सर्वसाधारणको ज्यान लिएको छ। जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ५० वर्षीय सत्तार राइनको साँढेसँगको ठोक्किँदा स्कुटर दुर्घटना भई मृत्यु भएको हो।
मधेश प्रदेशको राजधानी जनकपुरधाम–६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ स्कुटर (मधेश प्र.०२–००७ प ९२६६) मा यात्रा गरिरहेका राइन साँझ करिब साढे ८ बजे दुई साँढेबीचको भिडन्तको चपेटामा परे। भिडन्तकै बीच अचानक उनको स्कुटर एक साँढेसँग ठोक्किएको थियो।
गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि जानकी हेल्थ केयरमा लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले जानकारी दिए। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पनि उनले बताए।
यो घटना केवल एक दुःखद दुर्घटना मात्र नभएर जनकपुरधामको सडक सुरक्षा र सडकमा छाडा जनावर व्यवस्थापनको गम्भीर कमीप्रति संकेत गर्दछ।
स्थानीय बासिन्दाहरूले पटक–पटक सडकमा छाडा साँढे र गाईहरूको आतंकबारे गुनासो गर्दै आए पनि ठोस व्यवस्थापन नहुँदा जनधनको क्षति हुन थालेको उनीहरूको भनाइ छ।


प्रतिक्रिया