
श्रेणी : मधेस
बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको भन्दै नेकपा एमालेले कडा असन्तुष्टि जनाएको छ। मंगलबार एमाले वीरगन्ज महानगर समिति प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै यस्ता गतिविधिको तत्काल रोकथामको माग गरिएको छ।
ज्ञापनपत्रमार्फत एमालेले वीरगन्जमा रहेका यातायात व्यवस्था कार्यालय, मालपोत, नापी, विद्युत प्राधिकरण, भन्सार लगायत जनसरोकारका दर्जनौं कार्यालयमा सेवाग्राहीले दिनहुँ सास्ती भोग्नुपरेको उल्लेख गरेको छ। एमालेका अनुसार यी कार्यालयमा बिचौलियाहरूको चलखेल, घूसबाजी र अवैध कार्यहरूले सामान्य नागरिकको सेवा प्राप्त गर्नसमेत कठिन भएको छ।
वीरगन्ज महानगर समितिका अध्यक्ष नवराज शर्माले ज्ञापनपत्र बुझाउँदै भने, “जनतालाई सुविधा दिनुपर्ने सरकारी कार्यालयहरू उल्टै जनतालाई चुस्नमै केन्द्रित छन्। बिना पैसा वा कमीशन कुनै पनि काम अगाडि बढ्दैन। यसले जनताको राज्यप्रति विश्वास खस्किएको छ।”
एमालेले प्रहरी कार्यालयसमेत प्रभाव र दबाबमा पिडितलाई थप पिडित बनाउने प्रवृत्ति मौलाएको आरोप लगाएको छ। विकास निर्माणका काममा समेत भ्रष्टाचार व्याप्त रहेको, गुणस्तरमा कमी र अनुगमनको अभाव रहेको पार्टीको दाबी छ।
ज्ञापनपत्रमा भनिएको छ, “राज्यले जनताबाट कर उठाउँछ, त्यही करबाट कर्मचारीलाई तलब भत्तासमेत दिइन्छ। तर, जनताले सेवाको सट्टा अपमान र सास्ती पाइरहेका छन्। स्वास्थ्य सेवापनि सहज छैन, स्थानीय सरकारको उपस्थिति अनुभूति हुन सक्दैन।”
एमालेले प्रमुख जिल्ला अधिकारीमार्फत सबै कार्यालयको अनियमितता रोक्न र कर्मचारीको आचरणमा सुधार ल्याउन तत्काल पहल गर्न आग्रह गरेको छ। पार्टीले केही दिन सुधारको पर्खाइ गर्ने चेतावनी दिँदै, माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।


प्रतिक्रिया