वीरगन्ज :

बहुदरमाईमा २५ लाख लागतमा क्रिकेट मैदान निर्माण सुरु

श्रेणी : अर्थ

1 year
Pradeep Sah
2.0kViews
1804 Shares

वीरगन्ज,०४ जेठ । बहुदरमाई नगरपालिका–२, पिपरास्थित तिलावे नदी किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्न क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा यो परियोजना सुरु गरिएको हो।

शिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता शिव पटेल, बहुदरमाई–४ का वडाध्यक्ष सुरेन्द्र यादव, वडा नं– ५ का वडाध्यक्ष सुनिल कुशवाहा, गाउँपालिकाका कार्यपालिका सदस्य मुखदेव प्रसाद साह, समाजसेवी अधिवक्ता सुनिल कुशवाहालगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नेता पटेलले भने, ‘नेपालमा क्रिकेटको क्रेज बढेको छ। युवा, विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि बढेको छ। अब सहरमा मात्र होइन, गाउँमा पनि क्रिकेट सिक्न र खेल्न हामीले मैदानको शिलान्यास गरेका छौं।’ निर्माण कार्य अन्तर्गत मैदानलाई पर्खाल लगाउने, माटो पुर्ने, ग्राउण्ड बनाउने, र पिच निर्माण गर्ने कार्यहरू समावेश छन्। पटेलले यो सबै काम यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।

क्रिकेट मैदानको निर्माणले स्थानीय युवाहरूलाई खेलकुदमा सहभागी हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशमा खेलकुद पूर्वाधार विकासमा योगदान पुर्‍याउनेछ। नेपालमा क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताहरूले देशभरि क्रिकेटप्रतिको उत्साह बढाएको छ।

यस परियोजनाले बहुदरमाई क्षेत्रका युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने र स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *