
श्रेणी : अर्थ
काठमाडौं,३१ वैशाख । प्रतिनिधिसभाका सांसद डा. सिके राउतले आगामी बजेट सन्तुलित होइन, लक्षित हुनुपर्नेमा जोड दिएका छन्। बुधबारको संसद बैठकमा बोल्दै उनले हालसम्मको बजेट विनियोजन प्रणाली सबै क्षेत्रमा थोरैथोरै रकम छर्ने ‘कनिका शैली’ भएको उल्लेख गरे।
राउतले भने, “कनिका छरेजस्तो बजेट छर्ने परिपाटीले कुनै पनि क्षेत्रमा प्रभावकारी परिवर्तन ल्याउन सक्दैन। अब हामीले शिक्षा, पूर्वाधार वा उद्योगमध्ये कुनै एउटा क्षेत्रलाई लक्षित गरेर बजेट बनाउने हो भने मात्र ठूला परिवर्तन सम्भव हुन्छ।”
उनको भनाइमा, सबै क्षेत्रमा सानो हिस्सा छुट्याउँदा कुनै पनि क्षेत्रमा अपेक्षित परिणाम आउँदैन। त्यसैले नीति निर्माणकै तहमा बजेटको मोडल र प्राथमिकता स्पष्ट पारेर योजनाबद्ध ढंगले खर्च गर्नुपर्ने उनले सुझाव दिए।
राउतले बजेट वितरण गर्नु अघि त्यसको मोडालिटी (आधारभूत ढाँचा) तय गर्नुपर्नेमा पनि जोड दिए।
उनले भने, “कसरी र कुन मोडेलमा बजेट खर्च गर्ने भनेर पहिले नै तय गरिनुपर्छ। केवल विनियोजन गरेर मात्र होइन, कार्यान्वयनको सुनिश्चितता पनि अनिवार्य हुनुपर्छ।”
बजेट विनियोजनको ठूलो हिस्सा खर्च हुनै नसक्ने अवस्थाले सरकारले बनाएको योजना कागजमै सीमित हुने गरेको भन्दै उनले चेतावनी दिए।
“विनियोजित बजेट समयमै र पूर्णरूपमा खर्च गर्ने कानुनी र प्रशासनिक व्यवस्था अब आवश्यक छ,” राउतले जोड दिए।


प्रतिक्रिया