
श्रेणी : अपराध
जनकपुर,२१ वैशाख । भारतीय सिमावर्ती क्षेत्रबाट चोरी पैठारी गरी दैनिक उपभोग्य वस्तुहरू, विशेष गरी कपडाजन्य सामग्री नेपाल ल्याउने प्रवृत्तिमा तीव्र वृद्धि भएपछि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले कडाइ अपनाएको छ। राजस्व चुहावट नियन्त्रणका लागि कार्यालयले अनुगमन र छापामार गतिविधिमा तीव्रता दिएका छन्, जसका कारण केही ठुला व्यवसायीविरुद्ध करोडौंको सामान बरामद गरी मुद्दा दायर गरिएको छ।
राजस्व अनुसन्धान विभागको समन्वयमा इटहरीका राजस्व गस्ती टोलीले सक्रियता बढाउँदै, कोशी प्रदेशका १६ जिल्लामा विशेष निगरानी र छापा हान्ने अभियान सञ्चालन गरिरहेको छ। यो क्रममा विभिन्न व्यवसायमाथि कार्यवाही गर्दै राजस्व चुहावटको विरुद्ध कडा कदम चालेको छ।
राजस्व अनुसन्धान कार्यालयले कपडाजन्य सामग्रीको होलसेल र खुद्रा बिक्री गर्ने चार व्यवसायमाथि करिब ४० करोड रुपैयाँ बराबरको बिगो र जरिवाना माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ। प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेका अनुसार, सिराहाको लाहानस्थित श्याम बस्त्रालयमा २१ करोड ३७ लाख रुपैयाँको राजस्व चुहावट भएको पुष्टि भएको छ, र उक्त व्यवसायका सञ्चालक श्यामप्रसाद गुप्तामाथि राजस्व चुहावट ऐनअनुसार कारवाहीको माग गरिएको छ।
त्यस्तै, झापाको भद्रपुरस्थित कृष्ण स्टोर्स र इटहरीस्थित रानीसती इन्टरप्राइजेजविरुद्ध पनि राजस्व छलको मुद्दा दायर गरिएको छ। रानीसती इन्टरप्राइजेजका सञ्चालक प्रविण अग्रवालमाथि पनि कारवाहीको माग गरिएको छ, जसले भारतीय सिमावर्ती क्षेत्रबाट कपडाजन्य सामग्री भन्सार छलेर नेपाल ल्याएको पाइएका थिए।
सिराहा जिल्लाको मिर्चैया स्थित कल्याण बजार टेडर्समाथि पनि एक करोड सात लाख रुपैयाँ बराबरको बिगो र जरिवानासहितको कारबाहीको माग गरिएको छ।
पछिल्लो समय भारतीय सिमावर्ती क्षेत्रबाट कपडाजन्य सामग्रीसँगै अन्य दैनिक उपभोग्य वस्तुहरू, जस्तै चिनी, जिरा मसला, तेल, काजु, किसमिस लगायतका सामानहरू नेपाल ल्याउने प्रवृत्ति बढेको छ। यसलाई नियन्त्रण गर्न राजस्व अनुसन्धान कार्यालयले रात्रीकालीन गस्तीसमेत प्राथमिकतामा राखेर अभियान चलाइरहेको छ।
राजस्व अनुसन्धान कार्यालयले सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै अवैध सामग्रीहरूको भण्डारण स्थलमा आकस्मिक छापा हान्न थालेको छ, र यस क्रममा कडा निगरानी राखिएको जनाएको छ।


प्रतिक्रिया