वीरगन्ज :

कलैयामा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.6kViews
1765 Shares

कलैया,२० वैशाख । नेपाल पत्रकार महासंघ बारा शाखाले पनि प्रभातफेरी र कोणसभामार्फत विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ। “नयाँ साहसी संसारमा रिपोर्टिङ र पत्रकारको सुरक्षा ग्यारेन्टी गर” भन्ने नारासहित सञ्चारकर्मीहरू कलैयाका सडकमा उत्रिएका थिए।

बारा उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालय हुँदै भरत चौकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिका रूपमा महासंघका केन्द्रीय सचिव अशोक तिवारीको उपस्थिति रहेको थियो।

कोणसभालाई सम्बोधन गर्दै सचिव तिवारीले पत्रकारहरूले संविधानबाट सुनिश्चित अभिव्यक्ति स्वतन्त्रताको अधिकार पाएको भए पनि व्यवहारमा राज्यबाट त्यसको अनुभूति गर्न नपाएको गुनासो गरे। “हामी राज्यको दबाबमा छौं, तर लेख्ने काम रोकिएका छैन,” उनले भने। साथै, उनले पत्रकारहरूको सुरक्षामा बेवास्ता भएको भन्दै पत्रकारहरूलाई यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहतालगायतले शुभकामना मन्तव्य दिँदै प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाका लागि ऐक्यबद्धता व्यक्त गरे।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव, सदस्य साजिर मंसुर, संजीव मिश्र, ब्रिजमोहन कुशवाह, प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, श्रमजीवी पत्रकार संघ बारा अध्यक्ष शिवशंकर मिश्रा, मेची महाकाली सोसाइटी बारा अध्यक्ष भोजराज भट्टराई, प्रेस युनियन बाराका कोषाध्यक्ष अरुण साह, सचिव राजेश कुशवाहासहित विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *