
श्रेणी : प्रदेश
धरान, ८ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी प्रमुख रेनु दाहालप्रति सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाएका छन्। ठूला योजना ल्याउन सुझाव दिएकी दाहाललाई लक्षित गर्दै साम्पाङले “भिजन सिक्न म कहाँ आउनु” भन्दै कटाक्ष गरेका छन्।
साम्पाङले लेखेका छन्, “रेनु दाहालले मलाई ठूला योजना गर्नु पर्थ्यो भनेर भनेछिन्। उहाँकै बुबा प्रधानमन्त्री हुँदा मैले सप्तकोशीको पानी ल्याउन २० लाख रुपैयाँ माग्दा पनि त्यो मात्रै छुट्याइदियो भने म के गर्न सक्छु?”
उनले माओवादी केन्द्रलाई अब सामन्त, दलाल र पुँजीपतिहरूको पार्टी भएको पनि आरोप लगाए। साथै, पैसाविना पनि जनताको सहभागिताबाट विकास सम्भव हुने दृष्टिकोणमा आफू उभिएको जिकिर गरे।
“बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ भनेर सिक्न म कहाँ आउनु, भिजन के हो म देखाइदिन्छु।”
त्यस्तै, उनले बलियो नेतृत्वका लागि विदेशी ऋणभन्दा स्वदेशी उत्पादनमा ध्यान दिनुपर्ने तर्क पनि राखे।
बालेन साहको उदाहरण दिँदै उनले भने, “काठमाडौं महानगरसँग २६ अर्ब बजेट छ, तर २०% पनि खर्च गर्न सक्दैन। ठूला बजेट मात्र हैन, सदुपयोग र जनशक्ति प्रयोग मुख्य हो।”
साम्पाङको टिप्पणीले राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ। उनी यदाकदा विवादास्पद स्टाटसमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीका लागि चिनिन्छन्।


प्रतिक्रिया