वीरगन्ज :

कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.6kViews
1281 Shares

रौतहट,२७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिस्ट दलहरूको नीतिको कारण देशको विकासमा अवरोध आएको आरोप लगाएका छन्। उनले भने, “नेपालमा बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष भइसकेको छ, तर कांग्रेस र कम्युनिस्टका नेताहरूको निरन्तर सत्तामा रहनुको परिणामस्वरूप देशमा विकासको स्थानमा गरिबी र बेरोजगारीको समस्या जटिल हुँदै गएको छ।”

रौतहटको गरुडा स्थित होटल एन प्लाजामा जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको पहिलो जिल्ला अधिवेशनमा बोल्दै यादवले कांग्रेस र कम्युनिस्टको शासन सत्ता रहेको अवधिमा देशको अर्थतन्त्र कमजोर भएको र कृषि, उद्योग, शिक्षा र स्वास्थ्यको अवस्था खस्किएको उल्लेख गरे।

उनले भने, “दुई दलका नेताहरूले देशको अर्थतन्त्रलाई धराशायी बनाइसकेका छन्, जसको कारण कृषि र उद्योगमा गिरावट आएको छ। यहाँसम्म कि ठुला उद्योग, कलकारखाना र कम्पनीहरूको बन्द हुँदा युवाहरूलाई रोजगारको लागि विदेश पलायन हुन बाध्य बनाइएको छ।”

अध्यक्ष यादवले आगामी २०८४ को निर्वाचनमा जसपा नेपाललाई बहुमतमा जिताउन मधेसवासीलाई आह्वान गरे। उनले मधेस जनविद्रोहको बलमा स्थापित लोकतन्त्र, गणतन्त्र र संघीयतालाई कुनै पुँजीवादी तत्वले समाप्त गर्ने प्रयास गर्ने चेतावनी पनि दिए। “संघीयता स्थापित गर्न हजारौं मधेसी साहसिक जनसमर्थन र शहादतको बलमा आएका थिए, त्यसलाई समाप्त गर्ने प्रयास गर्नेहरू आफै समाप्त हुनेछन्,” यादवले भने।

यसै अवसरमा जसपाको पहिलो जिल्ला अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ र अधिवेशनको बन्द सत्र मंगलबार रातिदेखि सुरु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *