
श्रेणी : अपराध
बारा,१२ चैत । बारामा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनियमितता देखिएका दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ।
मङ्गलवार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले निरीक्षक प्रमोद कुमार यादव र विष्णु आचार्यलाई पदबाट हटाउने निर्देशन दिएको हो।
दुवै निरीक्षक महागढीमाई नगरपालिका-१ बरियारपुरस्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका थिए। उनीहरूले परीक्षा संचालनका क्रममा मर्यादाको उल्लङ्घन गरेको कारण उनीहरूको कार्यक्षेत्रबाट हटाउन आदेश दिइएको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार, परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई दुवै निरीक्षकलाई तत्काल जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको जानकारी दिएका छन्।
आज विज्ञान विषयको परीक्षा भइरहेको अवस्थामा यो कदम उठाइएको हो।


प्रतिक्रिया