वीरगन्ज :

वडा अध्यक्ष र सचिवको मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.6kViews
1513 Shares

जनकपुर,१४ फागुन । सिरहामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाइएको खुलासा भएको छ। सिरहाको नरहा गाउँपालिका–३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक लेनदेनको आधारमा भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिकता दिलाएको स्थानीयहरूले आरोप लगाएका छन्।

स्थानीयका अनुसार वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खडा गरी मोसताक मियाँको नाममा नागरिकता जारी गरिएको हो। नरहा गाउँपालिका–३, खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०र८२०) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५–०१–७६०१३३५०) लाई नक्कली अभिभावक बनाइ नागरिकता सिफारिसमा सनाखत गराइएको बताइएको छ।

तर अमानत मियाँले आफूलाई कुनै पैसा नदिएको दाबी गर्दै भने, “मेरो छोराको नागरिकता बनाउन सिफारिस लिन गएको बेला सचिवले अरूमा पनि सही गरिदेऊ भनेकाले सही गरेको हुँ। पछि मात्र थाहा पाएँ कि मेरो नाम नक्कली बुवा बनाउन प्रयोग गरिएको रहेछ।”एक स्थानीयले नाम नखोल्ने शर्तमा वडा अध्यक्ष र सचिवले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएर नागरिकता सिफारिस मिलाएको आरोप लगाए।

वडा अध्यक्ष अन्सारीले कार्यालयमा भीडभाड भएकाले गल्ती भएको जिकिर गरे भने वडा सचिव मण्डलले “अध्यक्षकै आदेशमा काम गरेको” बताउँदै आफू निर्दोष रहेको दाबी गरे।जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ गते मोसताक मियाँको नाममा नागरिकता जारी गरेपछि स्थानीयले उजुरी दिएका थिए। तर, आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढ्न नसकेको स्थानीयको गुनासो छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज बरालले यो विषयबारे आफू अनभिज्ञ रहेको बताउँदै थप जानकारी लिने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *