वीरगन्ज :

चितवन राष्ट्रिय निकुञ्जमा बजेट अभाव, बाघलाई मासु खुवाउन समस्या

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.6kViews
1437 Shares

चितवन, १० फागुन । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा पालिएका सातवटा बाघलाई दैनिक पाँच किलो मासु खुवाइँदै आए पनि बजेट अभावका कारण भुक्तानी गर्न समस्या देखिएको छ । निकुञ्जको वार्षिक बजेटले मात्र दुई महिनासम्मको मासु खर्च टर्ने भएकाले बाँकी महिनाको भुक्तानी अन्य स्रोतबाट जुटाउनुपर्ने स्थिति आएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहाराका लागि रु ४ लाख ३८ हजार मात्र बजेट विनियोजन गरिएको छ । तर, सातवटा बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदा मासिक खर्च रु २ लाख २ हजार ५०० पुग्ने भएकाले यो बजेट पर्याप्त नहुने देखिएको छ ।

हाल निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई गरी सात बाघ खोरमा राखिएका छन्। झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको एक बाघलाई ठाउँ अभावका कारण पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको थियो ।

थापामगरका अनुसार खोरमा रहेका बाघहरूको उचित हेरचाह गर्न र थप बाघ राख्न स्थान अभाव रहेको छ। यसैबीच, बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जानु र नियन्त्रणमा लिइने बाघहरूको संख्या बढ्दै जानुले निकुञ्जलाई थप चुनौती सिर्जना गरेको छ ।

बाघ संरक्षण तथा व्यवस्थापनका लागि थप बजेटको आवश्यक रहेको भन्दै निकुञ्ज प्रशासनले वन विभागमा पत्राचार गर्ने तयारी गरेको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ वटा बाघ रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *