
श्रेणी : अन्तर्राष्ट्रिय
नयाँदिल्ली,३० माघ । दिल्ली विधानसभा चुनावमा ७० मध्ये ४८ सिट जितेर भारतीय जनता पार्टी (भाजपा) २७ वर्षपछि सत्तामा फर्किएको छ। तर, चुनावी नतिजा सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नयाँ मुख्यमन्त्रीको टुंगो लागेको छैन।
भाजपाले सरकार गठनको तयारी गरिरहेको भए पनि मुख्यमन्त्रीको नाम औपचारिक रूपमा घोषणा गरिएको छैन। हिन्दुस्तान टाइम्स का अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणपछि मात्र शपथग्रहण समारोह तय गरिनेछ। मोदी फेब्रुअरी १५ मा स्वदेश फर्कने कार्यक्रम छ।
कसले सम्हाल्ने दिल्लीको नेतृत्व?
भाजपाले नयाँ मुख्यमन्त्रीका लागि विभिन्न नामबारे छलफल गरिरहेको छ। केही नेताहरूले पार्टीभित्रैबाट निर्वाचित विधायकलाई मुख्यमन्त्री बनाउनु पर्ने बताइरहेका छन् भने अन्यले क्षेत्रीय र जातीय सन्तुलनलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन्।
मुख्यमन्त्रीका लागि विभिन्न नाम चर्चामा छन्। पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्ने प्रवेश वर्मा, सांसद मनोज तिवारी, रमेश बिधुरी, कपिल मिश्र लगायतको नाम चर्चामा रहेको छ। त्यस्तै, भाजपा महिला विभागकी उपप्रमुख रेखा गुप्ता, आम आदमी पार्टीका सौरभ भारद्वाजलाई पराजित गर्ने शिखा रोय, पूर्वमन्त्री स्मृति इरानी तथा सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराज पनि सम्भावित उम्मेदवारको सूचीमा छन्।
इन्डियन एक्सप्रेस का अनुसार, मुख्यमन्त्री छनोटका लागि राष्ट्रिय स्वयंसेवक संघ (RSS) को सिफारिस महत्त्वपूर्ण रहनेछ। भाजपाले अघिल्ला चुनावहरूमा नेतृत्व चयन गर्ने रणनीति गोप्य राख्दै आएको छ, जुन दिल्ली चुनावपछि पनि दोहोरिएको छ।
भाजपा नेताहरूका अनुसार पार्टीले महिला नेतृत्व वा जातीय समीकरण मिलाएर मुख्यमन्त्री छनोट गर्न सक्छ। तर, अन्तिम निर्णयका लागि प्रधानमन्त्री मोदीको स्वदेश फिर्तीपछिसम्म कुर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया