
श्रेणी : मधेस
बीरगन्ज,२९ पुस । साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि पर्सा प्रहरीले कडा कारबाही थालेको छ। पछिल्लो समयमा यस्तो सवारीसाधनको संख्या बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ।
आजै ट्राफिक प्रहरीले प्र.२९-०३९०१४प १५८५ नम्बरका दुई मोटरसाइकललाई नियन्त्रणमा लिई प्रति सवारी एक हजार रुपैयाँ जरिवाना तिराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज भट्टका अनुसार, साइलेन्सर परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने चालकमाथि कारबाही गर्नुका साथै साइलेन्सर पुनः बदल्न लगाइएको छ।
इन्स्पेक्टर भट्टले पछिल्लो एक हप्तामा मात्रै साइलेन्सर परिवर्तन गरेर नियम उल्लङ्घन गर्ने आधा दर्जनभन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको जानकारी दिएका छन्।
ध्वनि प्रदूषणले सार्वजनिक शान्तिमा असर पुर्याउने भएकाले नियम विपरीतका सवारी साधनमाथि थप कडा कदम चाल्ने तयारी भइरहेको उनले बताए। “सार्वजनिक शान्ति भङ्ग गर्ने सवारी साधनमाथि कुनै सम्झौता हुने छैन,” इन्स्पेक्टर भट्टले भने।
ट्राफिक प्रहरीको यो अभियानले सहरभित्र ध्वनि प्रदूषण नियन्त्रण गर्दै सवारी सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ। नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रण गरेर, ट्राफिक व्यवस्थापन र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले गम्भीर कदम चालेको संकेत दिएको छ।

प्रतिक्रिया