वीरगन्ज :

बंगलादेशको अन्तरिम सरकारद्वारा शेख हसिनासहित ९६ जनाको राहदानी रद्द

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
2.4kViews
1010 Shares

काठमाडाैं,२४ पुस । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरेको छ। स्थानीय मिडियाका अनुसार राहदानी खारेज गरिएका अधिकांश व्यक्ति अवामी लिगसँग आवद्ध नेता र व्यापारी हुन्।

उनीहरूमाथि २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध प्रदर्शनका बीच अन्धाधुन्ध गोली प्रहार गराएर निर्दोष नागरिकहरूको हत्या गरेको आरोप छ। त्यस्तै, २०२३ को जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोपसमेत उनीहरूविरुद्ध लगाइएको छ।

यो निर्णयसँगै, शेख हसिनाले भारतबाट बंगलादेश फर्कने प्रयास गरेमा उनलाई तत्काल पक्राउ गरिने स्पष्ट संकेत छ। मंगलबारमात्रै शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो।

उक्त उजुरी शफिकुल इस्लाम मुफ्तीले दायर गरेका हुन्, जसमा उनका १७ वर्षीय छोराको मृत्युसमेत समेटिएको छ। उनका अनुसार, २०२१ मा मोदीको भ्रमणका बेला भएको विरोध प्रदर्शनमा शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि गोली चलाएको थियो, जसका कारण धेरै निर्दोष व्यक्तिको ज्यान गएको थियो।

राष्ट्रिय नागरिक समितिका सदस्य सचिव अख्तर हुसेनले जानकारी दिएअनुसार, शेख हसिनासहित तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व सांसद राम ओबैदुल मुक्तदिर चौधरी र अन्य नेताहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि चटगाउँ, ब्राह्मणबारिया र ढाकामा निशस्त्र नागरिकहरूको हत्या गरेको आरोप छ।

सरकारी तथ्यांकअनुसार ती घटनामा कम्तीमा १७ जना मारिएका थिए। राहदानी खारेजको यो निर्णयले बंगलादेशको राजनीतिक परिस्थिति थप जटिल बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *