
श्रेणी : मधेस
जनकपुर,०९ भदौ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका सुरक्षा निकायलाई कामकाजमा सहयोग पुर्याउने उद्देश्यले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारीसाधन हस्तान्तरण गरेको छ।
कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेश कार्यालयलाई २१ थान मोटरसाइकल र एक थान पिकअप भ्यान, र राष्ट्रिय अनुसन्धान कार्यालयलाई दुई थान कार र दुई थान पिकअप भ्यान हस्तान्तरण गरिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आर्थिक वर्ष २०८१–८२ मा खरिद गरिएको सवारीसाधनका कागजात र साँचो हस्तान्तरण गरेका थिए।
मन्त्री लेखीले भने, “प्रदेश सरकारले नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रतिवद्ध छ। यस प्रकारको सहयोगले प्रहरी र राष्ट्रिय अनुसन्धानलाई आफ्नो कामकाज सहज बनाउन मद्दत पुग्नेछ।”
नेपाल प्रहरी मधेश प्रदेश कार्यालय प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले प्रदेश सरकारले दिएको साधन स्रोतले अपराध नियन्त्रणमा सहजता हुने बताए। कार्यक्रममा गृह मन्त्रालयका सचिव, सुरक्षा अधिकारी र मन्त्रालयका उच्चपदस्थ कर्मचारी उपस्थित थिए।


प्रतिक्रिया