
श्रेणी : मधेस
बीरगन्ज,२९ चैत । नयाँ वर्ष २०८२ को स्वागतमा बीरगन्ज महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्कमा आजदेखि तीनदिने ‘रात्रि बजार मेला’ सुरु गरेको छ। चैत २९ देखि ३१ गतेसम्म सञ्चालन हुने मेलाको उद्देश्य स्थानीय व्यवसाय प्रवर्द्धन गर्नुका साथै नयाँ वर्षको उत्सवलाई जीवन्त बनाउनु हो।
मेलाको आयोजना ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको समन्वयमा गरिएको हो। केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार मेलाका लागि हालसम्म १०० भन्दा बढी स्टल बुकिङ भइसकेका छन्। स्टलहरूमा खाद्य सामग्री, लत्ताकपडा, भाँडाकुँडा, हस्तकला, कस्मेटिक्स, चश्मा, चप्पल, घरेलु उत्पादनजस्ता विविध वस्तु राखिएका छन्।
रात्रि बजारको उद्घाटन बीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले गरेका थिए। उनले यो पहलले वीरगञ्जको आर्थिक गतिशीलता बढाउनुका साथै साँझपछिको बजार संस्कृति विकास गर्न मद्दत गर्ने बताए। “रात्रि बजारले व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध बलियो बनाउने विश्वास लिएको छु,” उनले भने।
मेलामा विभिन्न उमेर समूहलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रम, ट्याटु र मेहन्दी सेवा, फुट मसाज, फोटोग्राफी र सेल्फी स्पटजस्ता आकर्षण थपिएका छन्।
कार्यक्रमलाई सफल बनाउन ग्रिन सिटीसँगै नेपाली युवा उद्यमी मञ्च, बीरगन्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन, फोरजीआर, रुंगटा वेलफेयर, इम्प्रुभिङ वीरगञ्ज, नेपाल इनोभेटिभ सोसाइटी, घरेलु तथा साना उद्योग, र एड्स बी मिडिया प्रालि लगायतका संस्थाहरूको सहकार्य रहेको छ।
अध्यक्ष खेतानले बीरगन्जवासीलाई नयाँ वर्ष आफ्नै सहरमा रमाइलो गरौँ भन्दै निम्तो दिएका छन्। “नयाँ वर्ष बाहिर नजाऔँ, यहीँ रात्रि बजारमा रमाऔँ,” उनले भने, “स्थानीय उत्पादन र समुदायको उत्सवलाई समर्थन गरौँ।”

प्रतिक्रिया