वीरगन्ज :

नारायणी अस्पतालको अव्यवस्थाबारे सांसद कानुको चासो, सीडीओसँग समन्वय छलफल

श्रेणी : BANNER

4 hours
Pradeep Sah
1.6kViews
1712 Shares

बीरगन्ज,१० चैत । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगञ्जस्थित नारायणी अस्पतालमा देखिएको बेथिती र अव्यवस्थाबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफल गरेका छन्।

मंगलबार प्रजिअ दाहालको कार्यकक्षमा भएको भेटमा सांसद कानुले अस्पतालमा बिचौलिया र दलालको गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। यस्ता गतिविधिले बिरामीहरूलाई प्रत्यक्ष असर पारिरहेको भन्दै उनले कडा निगरानी र कारबाहीको माग गरेका छन्।

उनले चिकित्सकहरूले बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने, एम्बुलेन्स चालकमार्फत दलाली हुनेजस्ता गैरकानुनी गतिविधि बढ्दै गएको उल्लेख गरे। साथै, सरकारी अस्पतालमा चिकित्सक समयमै उपस्थित नहुने र पूरा ड्युटी नबस्ने समस्या पनि गम्भीर रहेको उनले बताए।

सांसद कानुले नियमित अनुगमन र कडाइ आवश्यक रहेकोमा जोड दिँदै छठ पर्वका बेला छठघाट आसपास माछा–मासु बिक्री भइरहेको विषयमा पनि आपत्ति जनाए। धार्मिक आस्था र सामाजिक सद्भाव कायम राख्न यस्ता गतिविधि तत्काल रोक्नुपर्ने उनको माग थियो।

छलफलमा गर्मीयामसँगै बढ्ने आगलागी तथा अन्य विपद् व्यवस्थापनका तयारीबारे पनि कुरा भएको थियो। सांसद कानुले दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त व्यवस्था गर्न आग्रह गरे।

प्रजिअ दाहालले सांसदको चासोलाई सकारात्मक रूपमा लिँदै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। छलफलमा रास्वपाका युवा नेता सुधिर पटेल, मुर्ली जलान, क्षेत्रीय सभापति फैयाज मिया र प्रकाश साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *