वीरगन्ज :

पर्साको पर्सागढीमा ५५ जना दलित किशोरीहरुलाई विद्यालयमा गराइयो भर्ना

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.4kViews
1413 Shares

बीरगन्ज,०६ जेठ । आसमान नेपालले क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशन नेपालको सहयोगमा पर्साको पर्सागढी नगरपालिकामा रहेका दलित समुदायका ५५ जना किशोरीलाई विद्यालयमा पुनः भर्ना गराएको छ ।

पर्सागढी नगरपालिकाको वडा नम्बर २ र ४ का गरी दलित समुदायका ५५ जना किशोरीहरूलाई चालू शैक्षिकसत्रमा विद्यालय भर्ना गरिएको आसमान नेपालका कार्यक्रम संयोजक धर्मेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार आर्थिक कठिनाइका कारण विद्यालय छाडेका, बीचमैं पढाइ रोकिएका तथा कहिल्यै विद्यालय नगएका दलित किशोरीहरूलाई लक्षित गरी पुनः शिक्षामा ल्याउने कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि आसमान नेपालले आठ महीनासम्म अनौपचारिक शिक्षा कक्षा सञ्चालन तथा तालीम प्रदान गरी उनीहरूलाई विद्यालय भर्नाका लागि तयार पारिएको उनले बताए ।

कार्यक्रम संयोजक चौरसियाले दलित समुदायका किशोरीहरूको शिक्षामा पहुँच बढाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । उनका अनुसार विद्यालय भर्नासँगै उनीहरूको निरन्तरता सुनिश्चित गर्न र शिक्षामा बाधा नआओस् भन्नका लागि परिवारलाई पनि आर्थिक सहयोग गरिएको छ ।

यसै क्रममा २७ जना किशोरीका अभिभावकलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ बराबरका दरले आयआर्जनका लागि सहयोग प्रदान गरिएको छ । उक्त सहयोगबाट अभिभावकहरूले बाख्रापालन, बङ्गुरपालन तथा किरानापसल सञ्चालनजस्ता साना व्यवसाय सुरू गर्न प्रेरित गरिएको छ । कार्यक्रमले परिवारको आर्थिक अवस्था सुधार गर्दै बालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

संयोजक चौरसियाका अनुसार धेरैजसो किशोरी गरीबी, सामाजिक बाधा र अवसरको कमीका कारण विद्यालय जानबाट वञ्चित भएका थिए । पुनः विद्यालय भर्ना गरिएका किशोरीहरूको पढाइ निरन्तर रहोस् भन्ने उद्देश्यले अभिभावकहरूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि कार्यक्रम केन्द्रित गरिएको छ ।

स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले दलित समुदायका बालिकाहरूलाई शिक्षामा पुनः जोड्दै उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको भन्दै चौरसियाले समुदायस्तरमैं आर्थिक सशक्तीकरणमार्फत शिक्षालाई दिगो बनाउने प्रयास गरिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *