
श्रेणी : BANNER
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत जानबाट आफूलाई निवासमै रोकिएको बताएका छन् । आइतबार सर्वोच्च अदालत जाने तयारी गरिरहेका जबराले आफूलाई निवासबाटै निस्कन नदिएको बताएका हुन् ।
जबराले आफू सर्वोच्च जाने तयारीमा रहेका बेला निवासलाई बाहिरबाट बन्द गरी प्रहरी तैनाथ गरिएको बताए । जबराविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधिसभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो ।
ससदको महाभियोग सिफारिस समितिले जबरासँग बयान लिई शनिबार प्रतिवेदन तयार गरी सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । प्रतिनिधिसभा नै नरहेपछि महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने भन्दै जबरा आइतबार सर्वोच्च जाने तयारीमा थिए ।त्यसका लागि उनले सर्वोच्चमा सूचना पनि पठाइसकेका थिए। यता जबराले सर्वोच्च आउने बताएपछि नेपाल बार एसोसिएसनले उनलाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको छ । त्यसपछि जबरालाई रोक्न कानुन व्यवसायी सर्वोच्चको गेटमा उनलाई रोक्न पुगेका थिए ।
त्यसैरी सर्वोच्च अदालत प्रशासनले निलम्बन फुकुवाको पत्र नआउँदासम्म जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुखको आदेश उल्लेख गरी संसद् सचिवालयले जबरा निलम्बनमा परेको पत्र सर्वोच्चमा पठाएको थियो । जबरा सर्वोच्च प्रवेश गर्नका लागि निलम्बन फुकुवाको पत्र आउनुपर्ने सर्वोच्च प्रशासनले बताएको छ ।

प्रतिक्रिया