वीरगन्ज :

चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ जनाको मात्र सनाखत

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.9kViews
1706 Shares

चितवन,१५ भदाै । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म नदी तथा आसपासका क्षेत्रमा २७२ शव फेला परेका छन्। तीमध्ये १९९ शवको व्यवस्थापन भइसकेको छ भने १२ शवको मात्र सनाखत भएको छ। सनाखत भएका शवको आवश्यक परीक्षणपछि सम्बन्धित परिवारले बुझेर लगेका छन्।

पहिचान नखुलेका शवलाई भविष्यमा डीएनए परीक्षणमार्फत बेपत्ता व्यक्तिका परिवारसँग मिलान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव राखिएको स्थान पहिचान गर्न प्रत्येक शवमा आवश्यक संकेत चिह्नसमेत राखिएको छ। डीएनए परीक्षणबाट पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका तथा ८७ मानव अवशेष रहेका छन्।

नदी किनार तथा आसपासका क्षेत्रमा अझै पनि शव फेला पर्ने क्रम जारी छ। त्यसलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापन कार्यमा परिचालन गरिएको छ।

प्रहरीले नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *