काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे राजनीतिक सम्झौता भएको छ। शनिबार बेलुकादेखि चलेको छलफलपछि आइतबार बिहान करिब ४ बजे सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
बालेन राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिएको छ। पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सम्झौतामा उल्लेख छ।
सम्झौतापत्रमा दुवै पक्षले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै हस्ताक्षर गरेका छन्। सम्झौतापछि बालेनले मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ।
रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तीव्रता पाएको थियो। यस क्रममा उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल भए तापनि उनी सम्झौतामा भने समावेश छैनन्।
सम्झौताका साक्षीका रूपमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साहलगायत उपस्थित थिए। कलाकार निश्चल बस्नेतसहित विभिन्न व्यक्तित्वहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
यस्ताे छ ७ बुँदे सम्झाैता
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन-जी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरुका शहीद एवं घाइतेहरुको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोश्रो पक्ष) बीच देहायका सहमति भएको छ।
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

प्रतिक्रिया