
श्रेणी : BANNER
बीरगन्ज,११ वैशाख । सामान्यत: अदालतको इजलासमा कागजात, मुद्दा फाइल, र कानूनका किताबहरू हुन्छन्। तर बुधबार उच्च अदालत जनकपुरको बीरगन्जस्थित अस्थायी इजलासमा भने एक अचम्मको दृश्य देखियो – २ प्याकेट सिन्दुर र एउटा सानो मुकुट।
घटना बिहान ८:४५ बजेको हो। मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासमा, एक अपरिचित महिला प्रवेश गर्छिन्। उनले न्यायाधीशको टेबुलमै त्यो सिन्दुर र मुकुट राख्छिन् – र झट्टै गायब हुन्छिन्। यो सबै कार्यमा एक मिनेट पनि लाग्दैन।
इजलासमा सीसीटीभी क्यामेरा छैन, तर बाहिरको फुटेजमा ती महिला एकछिनभित्र प्रवेश र बाहिरिन गरेको देखिन्छ। तर को थिइन् ती महिला? अहिलेसम्म कसैलाई थाहा छैन।
इजलासका सूचना अधिकारी शम्मीकपुर साहका अनुसार, जब बिहान करिब १० बजे कर्मचारी फाइल राख्न इजलासमा प्रवेश गरे, तब मात्र उनीहरूले टेबुलमा ती सामग्री देखे। प्रहरीलाई तत्काल खबर गरियो र घटनाको अनुसन्धान सुरु गरिएको छ।
प्रहरी र अदालतका कर्मचारीहरूले अनुसन्धान गर्दा ती महिलाको अदालतसँग कुनै प्रत्यक्ष सम्बन्ध देखिएन – न त उनी कुनै मुद्दामा पक्ष/विपक्ष थिइन्, न त तारेखमा बसेकी थिइन्।
प्रहरीको अनुमान छ – ती महिला कुनै विशेष उद्देश्य लिएर अदालतमा गएकी हुन सक्छन्। अब प्रहरीले सीसीटीभी फुटेज र अन्य विवरणको आधारमा अनुसन्धान अघि बढाइरहेको छ।
डिएसपी किशोर लम्सालका अनुसार, “हामीले प्रारम्भिक फुटेज हेर्दा ती महिला अपरिचित लाग्छिन्, तर उनका उद्देश्य के थिए भन्ने कुरा उनी पक्राउ परेपछि मात्र खुल्नेछ।”

प्रतिक्रिया