श्रेणी : BANNER
बीरगन्ज, १४ माघ । बीरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि कटेरोमा ३२ वर्षीया विनीता देवी आफ्नो छोरासँग होटल चलाउँदै पेट पाल्दै छन्। उनी मधेस आन्दोलनका सहिद सोहनप्रसाद गुप्ताको पत्नी हुन्, जसले २०७२ साउन १५ गते वीरगन्जको नगवामा आफ्ना प्राण गुमाएका थिए।
विनीता देवीले भने, “उहाँसँगै हामीले होटल चलाउँथ्यौं, तर अब म एक्लै भए पनि यसलाई चलाइरहेकी छु। पेट पाल्नै पर्छ।” तीन वर्ष पहिले आएको भयंकर हुरीले उनका घरको फुसको छाप्रो उडाइदिएको थियो, त्यसपछि उनी होटेलनजिकै डेरा लिएर बस्न थालेकी छिन्।
विनीता देवीको संघर्ष र पीडामा एक अनकन्टार जीवन छ, जसले उनको अनुहार र आँखामा स्पष्ट देखिन्छ। उनले आफ्नो जीवन छोराहरूलाई उच्च शिक्षा दिन र राम्रो व्यक्तित्व बनाउन समर्पित गरेको बताइन्। “मेरो सपना छ, मेरा छोराहरूलाई राम्रो शिक्षा दिलाउने,” उनले भनिन्। अहिले उनका दुई छोराहरू मिनिल्याण्ड स्कुलमा निःशुल्क शिक्षा प्राप्त गर्दै छन्।
पति सहिद भएपछि विनीता देवीले १० लाख रुपैयाँ सहायता पाएकी थिइन् र सहिद दिवसमा क्रमशः २ र ३ लाख थप प्राप्त गरेपछि नगवामा ५ धुर घडेरी किनेर घर बनाउने योजना बनाएकी थिइन्। “घर बनाउनको लागि अहिले पनि धेरै सपना जस्तो लाग्छ, तर मेरा छोराहरू पढेर एक दिन घर बनाउनेछन् भन्ने आशा राखेकी छु,” उनले भनिन्।
तर, यति संघर्षको बीचमा, विनीता देवीको गुनासो छ कि सहिद परिवारको स्थिति आजको दिनमा पनि धेरै परिवर्तन भएको छैन। “पहिले बलिदानी दिवसमा हामीलाई सम्झिन्थ्यो, तर अहिले हामीलाई कुनै कदर छैन। सरकार र नेताहरूले हाम्रो बलिदानको कदर गर्दैनन्,” उनले गुनासो गरिन्।
सहिद परिवारलाई जागीरको प्रतिवद्धता दिने सरकारका भनाइसँगै, विनीता देवीले २०७४ र २०७९ का चुनावमा टिकटको लागि संघर्ष गरे पनि असफल भइन्। उनले भने, “सहिद परिवारलाई केही कदर छैन, नेताहरूलाई सत्ताको मात्र चाहना छ।”
विनीता देवीको संघर्ष र पीडालाई सामाजिक अभियन्ता प्रकाश थारुले ध्यानमा ल्याएका छन्। उनले भने, “सहिद पत्नि जुठा भाँडा माझेर जीवन यापन गर्दैछिन् र अझै घरविहीन छिन्। यो अत्यन्त लज्जास्पद कुरा हो। हामी केही अभियन्ताहरू एकजुट भएर उनलाई घर बनाउनका लागि सहयोग गर्दैछौं।”
प्रतिक्रिया