वीरगन्ज :

मधेश प्रदेशमा सत्ता संघर्ष: जनमत पार्टीको ठूला दलहरूमाथि घेराबन्दीको आरोप

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.0kViews
1667 Shares

जनकपुरधाम, २० पुस । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनका ठूला दलहरू नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी गरेको गम्भीर आरोप लगाएको छ।

जनमत पार्टीले सार्वजनिक गरेको आठ बुँदे धारणा अनुसार, कांग्रेस र एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई घेराबन्दी गर्दै, अनियमितता र अटेरीका गतिविधिहरू सञ्चालन गरिरहेको दाबी गरिएको छ ।

जनमत पार्टीले कांग्रेसका अर्थमन्त्री सुनिलकुमार यादवलाई पुँजीगत बजेट खर्चमा मुख्य अवरोधकर्ता ठहर गरेको छ। मुख्यमन्त्रीले असार २ गते नै बजेट खर्चको अख्तियारी दिए पनि अर्थ मन्त्रालयले पाँच महिनासम्म प्रणाली लक गरी पुँजीगत खर्च रोकिएको जनमतले आरोप लगाएको छ ।

मुख्यमन्त्रीको निर्देशनलाई बेवास्ता गर्दै अर्थमन्त्रीले अटेरी गरेको र उनलाई हटाउनका लागि गठबन्धनभित्र प्रयास हुँदा पनि ठूला दलहरूले त्यसमा समर्थन नगरेको जनमतले दाबी गरेको छ ।

कांग्रेस र एमालेका नेताहरूले सरकार छिट्टै ढल्ने हल्ला फैलाउँदै सचिवहरूलाई कुनै पनि काम नगर्न दबाब दिएको जनमतको आरोप छ। योजनाहरू टेन्डर प्रक्रियाबाट अघि बढाउने निर्णय भए पनि ठूला दलहरूले उपभोक्ता समितिमार्फत योजना सञ्चालनको माग राखेर काममा अवरोध गरिरहेको जनमतको भनाइ छ ।

जनमतले संघीय सरकारले मधेश प्रदेशलाई असफल देखाउन प्रमुख सचिव परिवर्तन नगरेको र मुख्य सचिवले मुख्यमन्त्रीको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ। मुख्य सचिव पटक–पटक बिदामा बस्ने र काममा अड्काउ थोपर्ने कार्यले प्रदेश सरकारलाई कमजोर बनाउने षड्यन्त्र भएको जनमतको ठहर छ ।

जनमतले प्रस्तावित रोजगारमूलक र लोकप्रिय योजनाहरू सफल भए कांग्रेस र एमालेलाई राजनीतिक घाटा हुने डरले ती योजनामा अवरोध गरिएको आरोप लगाएको छ ।

मधेश प्रदेशमा सत्ता गठबन्धनभित्रको यो संघर्षले प्रदेश सरकारको प्रभावकारिता र स्थायित्वमा गम्भीर प्रश्न उठाएको छ। समाधानका लागि सत्तारूढ दलबीच संवाद र सहकार्य आवश्यक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *