वीरगन्ज :

७ दशक पुरानो संरचनामै अडिएको सिमरा विमानस्थल, उडान र यात्रु दुवै प्रभावित

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.9kViews
1716 Shares

बारा,३० बैशाख । नेपालकै पुरानो आन्तरिक विमानस्थलमध्ये एक सिमरा विमानस्थल अझै पनि करिब सात दशकअघिकै संरचनामै सञ्चालनमा छ। देशको मुख्य औद्योगिक करिडोरमा अवस्थित यो विमानस्थलमा पूर्वाधारको अभावका कारण हवाई सेवा प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन।

धावनमार्ग साँघुरो र पुरानो टर्मिनलका कारण निजी विमान कम्पनीहरू नियमित उडानमा समस्या भोगिरहेका छन्। बुद्ध एयर जस्ता कम्पनीहरूले ठूलो क्षमता भएको एटीआर–७२ विमान पूर्ण रूपमा सञ्चालन गर्न नसक्दा हाल ४७ सिटे एटीआर–४२ प्रयोग गर्नुपर्ने बाध्यता छ।

सिमरा विमानस्थलको धावनमार्ग अहिले १,१९२ मिटर मात्रै रहेको छ, जबकि कम्तीमा १,५०० मिटर आवश्यक हुन्छ। साथै, विमान पार्किङ क्षेत्रको अभाव र टर्मिनल भवनको जिर्ण अवस्था यात्रु र विमान कम्पनी दुवैका लागि समस्याको कारण बनेको छ।

विमानस्थलको उत्तरतर्फको अग्ला रूख र तीनवटा पक्की घरहरूका कारण उत्तरबाट उडान वा अवतरण गर्न नसकिएको र यसले विमानलाई दक्षिणबाट एकतर्फी उडान गर्न बाध्य बनाएको छ। यसले उडान समय ७ मिनेटले बढाउँछ, जसको प्रत्यक्ष असर इन्धन खर्च र भाडादरमा परेको छ।

भर्खरै सिमरामा सम्पन्न अर्थ मन्त्रालयको राजस्व परामर्श समितिको छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले तीन सय मिटर रनवे विस्तार र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गर्न माग गरे। सहभागी उद्योगी–व्यवसायीहरूले त्यसमा एकमत समर्थन जनाएका थिए।

जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माका अनुसार, विमानस्थलको पूर्वाधार सुधार नहुँदा श्री एयरलाइन्स र गुण एयरलाइन्सले सेवा बन्द गरिसकेका छन्। यतिले सुरू गरेको सिमरा–पोखरा पर्वतीय उडानसमेत अहिले स्थगित छ। यसले यात्रु सुविधा मात्र होइन, राज्यको राजस्वसमेत घटाएको उनले बताए।

नागरिक उड्डयन कार्यालय सिमराका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार विमानस्थलका संरचना सुधारका लागि पटक–पटक पत्राचार गरिए पनि बजेट अभावका कारण काम अघि बढ्न सकेको छैन। रक्सौल नाकाबाट आउने पर्यटकदेखि पथलैया–वीरगन्ज औद्योगिक करिडोरका व्यवसायी, रौतहट, पर्सा, बारा र मकवानपुरका सर्वसाधारणले सिमरा विमानस्थललाई आन्तरिक हवाई यात्रा विकल्पको रूपमा उपयोग गर्दै आएका छन्।

तर, हरेक वर्ष करोडौंको राजस्व तिर्ने सिमरा क्षेत्रका उद्योगी, व्यापारी र सर्वसाधारणका आवश्यकता र चासो सरकारका लागि अझै प्राथमिकता बन्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *