वीरगन्ज :

४ मिनेटको अडियो संवादमा दर्जनौं आपत्तिजनक शब्द, मालपोत प्रमुखमाथि उन्मुक्तिको आरोप

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1132 Shares
वीरगन्ज,३० चैत । प्रधानमन्त्रीलाई अपशब्द बोलेको आरोपमा एक युट्युबरलाई तत्काल पक्राउ गरी कानूनी कठघरामा उभ्याउने सरकार, आफ्नै सेवाग्राहीलाई ‘गर्धन काट्ने’ र ‘मान्छे लगाएर उठाइदिने’ धम्की दिने उच्चपदस्थ कर्मचारीका अगाडि भने लाचार देखिएको छ।
निजामती कर्मचारीको परिचय हो— विनम्रता र सेवाभाव । तर, भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीको शैली देख्दा लाग्छ, उनी कर्मचारी होइन, कुनै गल्लीका “डन” हुन्।
एक भूसेवा सञ्चालकसँगको टेलिफोन कुराकानीमा खत्रीले दिएको “आमाचकारी” गाली र धम्कीको अडियोले यतिबेला मालपोत प्रशासनभित्रको कुरुप अनुहार छताछुल्ल पारिदिएको छ।
भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीको ‘गुण्डा’ शैलीको अडियो सार्वजनिक भएको महिनौँ बित्दा पनि उनीमाथि कुनै कारबाही नहुनुले ‘सबैका लागि कानून बराबर’ भन्ने राज्यको दाबीमाथि नै गम्भीर उपहास गरेको छ।
सार्वजनिक भएको ४ मिनेट ६ सेकेन्डको अडियोमा प्रमुख मालपोत अधिकृत खत्रीले लेखापढी व्यवसायी ओम प्रकाश यादवलाई ४९ पटक ‘आमाचकारी’ गाली मात्र दिएका छैनन्, साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी तुच्छ शब्दहरू समेत प्रयोग गरेका छन्।

१० लाख रुपैयाँ घुसको विषयलाई लिएर सुरु भएको विवादमा खत्रीले टेलिफोनमै भनेका छन्— “म तँलाई मार्न आएको हो, पैसा मागेको प्रमाणित गरिनस् भने तेरो घाँटी काटेर फ्याँकिदिन्छु।”

रक्सौलका अनिल कुमार साहको जग्गा नामसारीको फाइल ५ महिनादेखि रोकेर बसेका खत्रीले भारतीयलाई नामसारी गर्न गारो छ, १० लाख खर्च गर्नुपर्छ भन्दै फर्काएपछि विवाद सुरु भएको लेखापढी व्यवसायी यादवले आरोप लगाएका छन् ।

मालपोत हाकिमको अहङ्कार

खत्रीले आफ्नो पदीय मर्यादा मात्र भुलेका छैनन्, राज्यका शक्ति केन्द्रहरूलाई आफ्नो निजी लाचार साधन जस्तै चित्रण गरेका छन्। उनले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूलाई आफ्नै गाडीमा राखेर काठमाडौँ लैजाने गरेको र उनीहरूसँगकै सल्लाहमा मुद्दा चलाउने दाबी गरेका छन्।

अख्तियारका प्रमुख आयुक्तदेखि जिल्लाका प्रहरी–प्रशासन प्रमुख ९सीडीओ र एसपी० सम्म आफ्नो ‘खल्ती’ मा रहेको आशय व्यक्त गर्दै उनले कसैले समाचार लेखे वा उजुरी गरे सिध्याइदिने धम्की समेत दिन भ्याएका छन्।

नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीलाई जातीय र साम्प्रदायिक विभेद हुने गरी अश्लील गाली दिँदा पनि पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले ठोस विभागीय कारबाहीको साटो विषयान्तर गरिरहेका छन्।

३ महिनाअघि प्रहरीमा पठाइएको भनिएको निवेदन अहिले ‘गुपचुप’ राखिएको छ। कर्मचारीमाथि कारबाही गर्ने सिधै अधिकार हुँदाहुँदै सीडीओ दाहालले “कार्यालयमै आउनुस्, फोनमा भन्न मिल्दैन” भन्दै पन्छिनुले खत्रीले दाबी गरेझैँ प्रशासन उनको प्रभावमा रहेको त छैन भन्ने आशंका उब्जाएको छ।

अडियोको नैतिक दायित्व र सुशासनको चुनौती

अडियो सार्वजनिक भएपछि खत्रीले त्यसको नैतिक जिम्मेवारी लिनुको साटो उल्टै सञ्चारमाध्यम र व्यवसायीलाई धम्क्याउन सक्रिय छन्। राज्यको ढुकुटीबाट तलब खाने जिम्मेवार ओहोदाको कर्मचारीले खुलेआम ‘गुण्डागर्दी’ को शैली अपनाउँदा पनि राज्य संयन्त्र मूकदर्शक बन्नुले सुशासनको खिल्ली उडाएको छ।

मालपोत प्रमुख खत्रीले अडियो ६ मिनेट ४३ सेकेन्डको रहेका दावी गरे । उनले शुरुमा सेवाग्राही भनिएका ओम प्रकास यादवले आफूलाई गालीगलौज र धम्की दिएपछि आफूले पनि उसलाई गाली दिएको र धम्कीको भाषा प्रयोग भएको स्वीकार गरेका छन् । उनीसँग भएको भनिएको ६ मिनेट ४३ सेकेन्डको अडियोमा के छ भनेर सोधेको प्रश्नको उनले जवाफ दिन चाहेनन् ।

प्रश्न उठ्छ— के कानून साना र निमुखाका लागि मात्रै हो ? के खत्रीले दाबी गरेझैँ अख्तियार, अदालत र प्रहरी प्रशासन साँच्चै उनको पहुँचभित्रै दबिएका हुन् त ? मालपोत कार्यालयभित्रको यो ‘हाकाहाकी दादागिरी ले अहिले सिङ्गो निजामती प्रशासनलाई नै गिज्याइरहेको छ।

यस प्रकरणमा सेवाग्राही वा कार्यालय प्रमुख को दोषी हो भन्ने कुरा यकिन छानवीन गरेर कानूनी कार्वाही अगाडी बढाउनु पर्ने होइन र ? कुनै सेवाग्राहीले राष्ट्र सेवक कर्मचारीमाथि गालीगलौज र धम्की दिएको छ भने उ माथि पनि अनुसन्धान र कार्वाही हुनुपर्ने र सेवाग्राही माथि समेत गुण्डाकै शैलीमा धम्की दिने कार्यालय प्रमुखलाई कानूनको कठघरामा ल्याउनु पर्ने होइन र ?

साभारः racekhabar.com

यस्तो छ मालपोत हाकीम खत्री र भूसेवा संचालक यादव विचको भनाभनको अडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *