
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,०७ साउन । बर्खे धान र अन्य मुख्य बालीहरूका लागि आवश्यक पर्ने रासायनिक मल आपूर्तिमा राहत मिल्ने संकेत देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत मगाएको २५ हजार टन डाएमोनियम फस्फेट (डीएपी) मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ।
कम्पनी प्रादेशिक कार्यालय बीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार भारतको इन्डियन पोटास लिमिटेड (IPL) ले तेस्रो मुलुकबाट खरिद गरी ल्याएको यो मल हाल कोलकातामै प्याकिङ प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्याकिङ सम्पन्न भएपछि मल रेलमार्ग हुँदै सिर्सिया सुक्खा बन्दरगाह र वीरगन्ज सीमावर्ती भारतीय रेल स्टेसनमा ल्याइनेछ।
२५ हजार टनमध्ये बीरगन्ज प्रादेशिक कार्यालयलाई ९,५०० टन मल प्राप्त हुनेछ भने बाँकी मल भैरहवा र विराटनगरस्थित प्रादेशिक कार्यालयहरूमा वितरण गरिने पाण्डेले जानकारी दिए। उनका अनुसार, मल यसै साताको अन्त्यतिर नेपाल प्रवेश गर्ने सम्भावना छ।
“हाल हाम्रो गोदाममा पुरानै डीएपी मलको मौज्दात छ र माग भएका जिल्लाहरूमा आपूर्ति भइरहेको छ,” पाण्डेले भने, “नयाँ मल भित्रिएपछि बर्खे धान खेतीका साथै मकै र उखु खेतीका लागि समेत आपूर्ति सहज हुनेछ।”
बीरगन्जस्थित प्रादेशिक कार्यालयबाट मधेश, बागमती र गण्डकी प्रदेशका १६ जिल्लामा मल आपूर्ति हुँदै आएको छ। मल आपूर्तिको यो थप व्यवस्थाले किसानहरूलाई बाली उत्पादनमा राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया