
श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज, २६ माघ । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगन्जको आर्दशनगर हुँदै भारततर्फ जाँदै गरेका एक व्यक्ति हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा माघ १५ गते वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बीआर ०५ क्यू ४३८४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल सवार भारत पश्चिम चम्पारण, रक्सौलका २७ वर्षीय ओम कुमार रौनियारलाई चेकजाँच गर्दा रु ६ लाख नेपाली रुपैयाँ बरामद गरेको थियो ।
प्रहरीका अनुसार मोटरसाइकलको दायाँपट्टि लेगार्डमा लुकाइएको अवस्थामा नेपाली रु ५०० दरका १,२०० थान नोट भेटिएको थियो । रौनियारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत हुन्डी कारोबार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
प्रहरीले बरामद रकम र मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया सम्पन्न गरेको बताएको छ । अदालतको आदेश अनुसार उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अन्तर्गत पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया