श्रेणी : BANNER
काठमाडौं, २ पुस । सेवा सुविधाको माग राखेर आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीहरूले उपकुलपति (भीसी) कार्यालय अगाडि धर्ना दिएका छन् । ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले बताए ।
कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरुको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिभुवन विश्वविद्यायमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनु पर्ने माग पनि कर्मचारीको छ ।
लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती गर्नुपर्ने, संचित विशेष तलवी बिदा रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था गर्नुपर्ने, विगतमा खोसिएका सेवा सुविधा दिनुपर्ने र ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग कर्मचारीहरुले राखेका छन् ।
‘कर्मचारीको माग सिनेटमा प्रस्तुत भएको छ । कार्यान्वयन नभएपछि आन्दोलनमा आउनु परेको हो । कर्मचारीको हितमा रहेको माग पूरा हुनुपर्छ,’ त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले भने ।
प्रतिक्रिया