वीरगन्ज :

सिमेन्टको मूल्य दोब्बर, बारा–पर्सामा निर्माण कार्य ठप्प, मजदुरहरू संकटमा

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.9kViews
1898 Shares

बीरगन्ज,१४ माघ । बारा र पर्सामा सिमेन्टको अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य ठप्प भएको छ। भौतिक संरचनाको निर्माणका लागि यो मुख्य सिजन भए पनि सिमेन्टको मूल्य एक्कासि दोब्बर भएपछि निर्माण कम्पनीहरूले काम रोक्न बाध्य भएका छन्।

गत वर्ष साउनमा प्रति बोरा सिमेन्ट ४१० रुपैयाँमा उपलब्ध भए पनि हाल यसको मूल्य ८१५ रुपैयाँ पुगेको छ। बाराका निर्माण व्यवसायी संघका कोषाध्यक्ष रामकुमार अर्यालका अनुसार निर्माण कम्पनीहरूले यो मूल्यमा काम गर्न नसक्ने भन्दै अधिकांश परियोजना रोकेका छन्।

सिमेन्टको मूल्यवृद्धिका कारण प्रदेश तथा स्थानीय सरकारका सबै पूर्वाधार निर्माण, निजी क्षेत्रका तारे होटल, अस्पताल, विद्यालय लगायतका निर्माण कार्य प्रभावित भएका छन्। निर्माण कम्पनीहरूले ठूला परियोजनादेखि साना योजनासम्म रोक्दा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, मिस्त्रीहरू कामविहीन बनेका छन्।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानीय ठेकेदारहरूले स्थानीय परियोजनाका काम समेत बन्द गरेपछि बजारसमेत प्रभावित भएको बताए। अर्जुन निर्माण सेवा सिमराका सञ्चालक अर्जुन लामिछानेका अनुसार सिमेन्टको मूल्यवृद्धिले ५० लाखको योजनामा मात्रै सिमेन्टबाटै ७–८ लाख रुपैयाँ नोक्सान हुने देखिएको छ।

मूल्य समायोजन नहुँदासम्म निर्माण कम्पनीहरूले काम थाल्न नसक्ने बताइएको छ। यसले गर्दा नदीजन्य सामग्री, छड, फलाम, ढुवानी साधनजस्ता निर्माण सामग्रीको कारोबार समेत ठप्प भएको छ।

मजदुर संघहरूले सिमेन्टको मूल्यवृद्धिमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल छानबिन र व्यवस्थापनको माग गरेका छन्। निर्माण क्षेत्रमा देखिएको यो संकटले श्रमिकहरूको जीविकामा प्रत्यक्ष असर पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *