श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२४ वैशाख । सहकारी ठगी प्रकरणका मुख्य योजनाकार मानिएका गितेन्द्रबाबु (जीबी) राई अझै पनि मलेसियामै सुरक्षित रूपमा बसिरहेका छन्। इन्टरपोलको रेड नोटिस जारी भएको महिनौं बितिसक्दा पनि राईलाई नेपाल ल्याउन सरकारले कुनै ठोस सफलता हासिल गर्न सकेको छैन।
संसदमा सोमबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राईको गिरफ्तारी र स्वदेश फिर्तीप्रति प्रश्न उठाउँदै सरकारको उदासीनता र राजनीतिक पूर्वाग्रहमाथि कडा आलोचना गरे। उनले भने, “जनता हल्ला गर्दैछन्— १६ अर्ब ५० करोडको ठगी गर्ने व्यक्ति खुलेआम विदेशमा घुमिरहेछन्, र सरकार मौन छ।”
राईसँग जोडिएको सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओली सरकारको पालामा संसद् अवरुद्धसम्म गरिएको थियो। तर अहिले गृहमन्त्रालय सम्हालिरहेको नेपाली कांग्रेसले आफैंले उठाएको मुद्दामा कारबाहीको कुनै ठोस प्रगति गर्न सकेको छैन।
प्रहरीका अनुसार जीबी राई मलेसियामा “माई सेकेन्ड होम” स्किममार्फत वैधानिक रूपमा बसोबास गरिरहेका छन्। साथै, एक मलेसियन महिलासँग लिभिङ टुगेदरमा रहेकाले उनले विवाहको वैधानिकता प्रयोग गर्दै नेपाल प्रत्यर्पणबाट जोगिने उपाय अपनाएको अनुमान छ।
इन्टरपोलमार्फत रेड नोटिस जारी भए पनि मलेसियाली सरकारले नेपाल फर्काउने तयारीमा कुनै सकारात्मक संकेत नदिएको सुरक्षा निकायको भनाइ छ। नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार, “प्रहरीको तर्फबाट सबै प्रक्रिया पुरा भइसकेको छ, तर मलेसियासँगको सरकार–सरकार (G2G) कूटनीतिक सहकार्यबिना राईलाई ल्याउनु असम्भवजस्तै देखिन्छ।”
राईले मलेसियामा करोडौं रुपैयाँ लगानी गरेर व्यापारसमेत सञ्चालन गरिरहेको प्रहरीले बताएको छ। यता, पीडित सहकारी सदस्यहरू अझै पनि आफ्नो बचत फिर्ता पाउने आशामा छन्।
सांसद पराजुलीले संसद्मा चेतावनी दिँदै भने, “सरकारले पीडकहरूलाई कारबाही नगरे भने हामी पुनः सडक र संसद् दुवैमा दबाब दिन पछि हट्ने छैनौं।”
हालसम्म राईसँग सम्बन्धित पाँच सहकारीका करोडौं रुपैयाँ अपचलनसम्बन्धी मुद्दा अदालतमा चलिरहेका छन्, तर मुख्य अभियुक्त भने कानुनी दायराबाहिर सुरक्षित छन्।

प्रतिक्रिया