श्रेणी : प्रदेश
काठमाडौँ, २० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ । कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सो पार्टी सबै सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिए ।
सांसद यादवले सरकार पुनःगठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औँल्याए । उहाँले लामिछाने सञ्चारकर्मीका रूपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे ।
सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे । उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट पारे । उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे । तत्पश्चात सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसदको ध्यान गएको अवगत गराए । रासस
प्रतिक्रिया