वीरगन्ज :

वीरगन्ज २३ प्रसौनी बिर्ताको सडक जलमग्न

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.7kViews
1783 Shares

वीरगन्ज,२८ चैत । पर्सा जिल्लाको वीरगन्ज २३ स्थित प्रसौनी बिर्ताको मुख्य सडक हनुमान मन्दिरपूर्वदेखि राजाराम पुलसम्मको सडक जिर्ण बनेको छ। गएरातीदेखि परेको अविरल वर्षासँगै सडक जलमग्न बनेपछि स्थानीयवासीहरू आवतजावतमा कठिनाइ भोगिरहेका छन्।

स्थानीयका अनुसार सो क्षेत्रमा विगत लामो समयदेखि सडकको अवस्था अत्यन्तै खस्किएको छ। पानी जम्ने समस्या त छँदै थियो, तर लगातारको वर्षाले स्थिति झनै बिग्रिएको छ। चिसो मौसममा झन् चट्याङ, हावाहुरीसहितको वर्षाले जनजीवन प्रभावित भएको छ भने सडक हिलाम्मे र खोलाजस्तो बनेको छ।

स्थानीयवासीहरूले समयमै पानीको उचित निकास र सडक पिच गर्ने माग गरेका छन्। “जतिबेला पानी पर्छ, त्यतिबेला यो बाटो त पार गर्नै नसकिने हुन्छ,” एक स्थानीयवासीले भने, “साना बालबालिकादेखि बृद्धबृद्धासम्मलाई हिँड्नै गाह्रो हुन्छ, कहिले दुर्घटना हुने हो भन्ने डर हुन्छ।”

स्थानीयले यो विषयमा सांसद, प्रदेश सांसद, मेयर र वडा अध्यक्ष सबैको ध्यानाकर्षण गराएका छन्। यसै सन्दर्भमा प्रदीप यादव – पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री, रहबर अंसारी – प्रदेश सांसद, राजेशमान सिंह – वीरगन्ज महानगरपालिकाका मेयर र अवधकिशोर कुशवाहा – वडा नं. २३ का अध्यक्षलाई स्थानीयले तत्काल पहल गर्न अपिल गरेका छन्।

स्थानीय तहको मुख्य जिम्मेवारीमा पर्ने सडक मर्मत तथा जलनिकासको व्यवस्था नगर्दा हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ। समयमै ध्यान नदिए यो समस्या अझ गम्भीर बन्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

स्थानीय समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान जाओस् भन्ने उद्देश्यले स्थानियको सक्रियतामा यो विषय सार्वजनिक गरिएको हो। अब सम्बन्धित निकायको तत्काल पहल र दीर्घकालीन समाधान अपेक्षित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *