श्रेणी : खेलकुद
वीरगन्ज,२० पुस । वीरगन्ज र जनकपुरमा हुने जय ट्रफी (एलिट कप)को तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म हुन लागेको दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
क्यान पर्साका अध्यक्ष तथा वीरगन्जमा हुने प्रतियोगिताका लागि भेन्यु निर्देशक मनिष सिंहका अनुसार, प्रतियोगिताको उद्घाटन खेल जनकपुरमा मधेस प्रदेश र बागमती प्रदेशबिच हुनेछ भने वीरगञ्जको नारायणी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल खेलिनेछ ।
खेलहरू राउन्ड रोबिन आधारमा सञ्चालन हुनेछ, जसबाट शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ १ देखि ३ गतेसम्म हुने सिंहले जानकारी दिए ।
क्यानका पूर्व अध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको लागि नारायणी क्रिकेट मैदानको स्तरोन्नति गरिएको छ । पिच निर्माणदेखि मैदानको स्तरोन्नतिसम्मका कार्य वीरगञ्ज महानगरपालिकाको सहयोगमा सम्पन्न भएको टुर्नामेन्ट निर्देशक सुवास जयसवालले जानकारी दिए।
अध्यक्ष सिंहले प्रतियोगिताको तयारीमा कुनै कमी नराखिएको बताउँदै आगामी दिनमा अरू प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए । तर, दर्शकका लागि बस्ने सुविधा नभएकाले मैदान बाहिर बसेर खेल हेर्न र खेलाडीलाई उत्साह प्रदान गर्न उनले आग्रह गरेका छन् । उनले आगामी वर्ष २५ सय दर्शकका लागि अस्थायी व्यवस्था गर्ने योजना पनि सुनाए ।
चार टोलीका कप्तान र खेलाडी सूची
प्रतियोगिता खेल्ने चारै टिमले आफ्नो अन्तिम १५ जनाको टोली घोषणा गरेका छन् । त्रिभुवन आर्मी क्लबले शनिवार बिहान टोली घोषणा गरेसँगै चारै टोलीले आफ्नो स्क्वायड घोषणा गरेको हो ।
त्रिभुवन आर्मी क्लब विनोद भण्डारीको कप्तानीले खेल्दै गर्दा नेपाल पुलिस क्लब आरिफ शेख, मधेस प्रदेश हरि शङ्कर शाह र बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दै छ ।
मधेस प्रदेश: हरि शङ्कर शाह (कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमांशु दत्त, प्रदीप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह, नीरज कुमार यादव।
नेपाल पुलिस क्लब: आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शङ्कर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद, दीपक सेरला।
बागमती प्रदेश: सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी।
त्रिभुवन आर्मी क्लब: विनोद भण्डारी (कप्तान), भीम सार्की, साहब आलम, सोमपाल कामी, सुमति श्रेष्ठ, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसीर अहमद, विवेककुमार यादव, नरेन साउद, दुर्गेस गुप्ता, कुशल मल्ल।
प्रत्यक्ष प्रसारण
खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट हेर्न सकिनेछ । प्रतियोगिताले वीरगञ्ज र जनकपुरका खेल प्रेमीलाई राष्ट्रिय स्तरका खेल नजिकबाट हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया