वीरगन्ज :

वीरगन्जमा एचपीभी खोप अभियानमा गम्भीर लापरबाही, प्रशासनको कडा निर्देशन

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.5kViews
1519 Shares

वीरगन्ज, २८ माघ । वीरगन्ज महानगरपालिकामा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा गम्भीर लापरबाही भएको पाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालद्वारा गरिएको स्थलगत अनुगमनमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नअपनाइएको, खोप केन्द्रहरू असुरक्षित रहेको र सहभागी किशोरीहरूलाई खोपसम्बन्धी कुनै जानकारी नदिइएको देखिएको हो ।

अनुगमनका क्रममा खोप उपकरणहरू उचित रूपमा व्यवस्थापन नगरिएको, सरसफाइको अभाव रहेको र खोपपछि किशोरीहरूलाई आराम गर्ने व्यवस्था समेत नभएको पाइएको सीडीओ अर्यालले जानकारी दिए। “स्वास्थ्यकर्मीहरू निर्धारित पोसाकमा थिएनन्, खोपपछि आकस्मिक उपचार सामग्रीहरूको पनि व्यवस्था गरिएको थिएन,” उनले भने ।

किशोरीहरूलाई खोपको प्रकृति, उपयोगिता तथा सम्भावित असरबारे कुनै जानकारी नदिइनु र अनिवार्य परामर्श (काउन्सेलिङ) प्रदान नगर्नु गम्भीर त्रुटि भएको उनले बताए। खोप केन्द्रमा सूचना बोर्डको अभाव, स्वयंसेवकहरूको कम संख्यालगायत न्यूनतम सावधानी अपनाइएको नदेखिएको अनुगमनमा भेटिएको थियो ।

यस्ता त्रुटिहरू दोहोरिन नदिन सीडीओ अर्यालले वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै तुरुन्त सुधारका लागि निर्देशन दिएका छन्। स्वास्थ्य कार्यालय पर्सालाई समेत खोप कार्यक्रम व्यवस्थित र सुरक्षित बनाउन आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य विज्ञहरूले पाठेघरको क्यान्सरबाट जोगाउन एचपीभी खोपको व्यवस्थापन चुस्त र सुरक्षित हुनुपर्नेमा जोड दिएका छन्। प्रशासनले दोस्रो चरणको खोप अभियानमा विशेष सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ ।

पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वीरगन्जसहित पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा करिब ३८ हजार ५५७ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। खोप अभियानको दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *