वीरगन्ज :

वीरगञ्जमा बाल प्रतिभा उत्पादनको नयाँ अभ्यास : ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल सुरु

श्रेणी : BANNER

5 days
Pradeep Sah
2.0kViews
1770 Shares

वीरगञ्ज । कागजी नाराभन्दा व्यवहारिक पहलमार्फत बालबालिकाको प्रतिभा उजागर गर्नुपर्ने बहस चलिरहेका बेला वीरगञ्जमा एउटा उदाहरणीय प्रयास सुरु भएको छ। जीवन ज्योति सेकेन्डरी स्कुलले आफ्नी दिवंगत आमाको स्मृतिमा आयोजना गरेको ‘ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता’ आजदेखि आदर्शनगरमा औपचारिक रूपमा प्रारम्भ भएको छ।
प्रतियोगिताको उद्घाटन जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल शिवजीप्रसाद गुप्ताको अध्यक्षतामा तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नगरप्रमुख सिंहले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले विद्यालयस्तरबाट सुरु हुने यस्ता खेलकुद कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो। उहाँले शैक्षिक गतिविधिसँगै खेलकुदलाई समान महत्व नदिइएसम्म सक्षम र आत्मविश्वासी पुस्ता निर्माण सम्भव नहुने उल्लेख गर्नुभयो।
“खेलकुद केवल मनोरञ्जन होइन, यो अनुशासन, नेतृत्व र राष्ट्र चिनाउने माध्यम पनि हो,” नगरप्रमुख सिंहले भन्नुभयो, “यस्ता ग्रासरुट तहका प्रतियोगिताबाट नै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन्छन्।”
वीरगञ्जकै माटोमा हुर्किएर आमाको नामबाट प्रतियोगिता आयोजना गरिएकोप्रति उहाँले आयोजकप्रति विशेष प्रशंसा पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का केन्द्रीय सदस्य छेदुप लामा, मधेस प्रदेश उपाध्यक्ष पुरान प्रधान, सल्लाहकार मनि पाख्रिङ र लालबाबु पटेल, वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, उपाध्यक्ष शर्मानन्द कुशवाहा, पूर्व अध्यक्ष तथा हिसान पर्साका उपाध्यक्ष आलोक चौरसिया, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज बाबु पटेललगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रतियोगितामा १३ वटा विद्यालय सहभागी छन्, जसले बालबालिकाको प्रतिभा पहिचान र प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको स्वागत मन्तव्य जीवन ज्योति स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ताले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।
विशेषतः विद्यालयस्तरमै सीमित हुने खेलकुद गतिविधिलाई सार्वजनिक मञ्चमा ल्याएर बाल प्रतिभालाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगितालाई स्थानीय खेलकुद विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *