
श्रेणी : अपराध
काठमाडौं,२२ जेठ । वैदेशिक रोजगारीमा पठाइदिने बहानामा सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गर्ने दुईजना व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। आकर्षक तलब र युरोपियन देशको सपना देखाएर उनीहरूले तीन जना पीडितसँग झण्डै १५ लाख रुपैयाँ हिनामिना गरेका थिए।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार घर भई हाल ललितपुर महानगरपालिका–५ बसोबास गर्दै आएका ५५ वर्षीय बिरबहादुर घिसिङ र महोत्तरीकै बर्दिबास नगरपालिका–६ घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्ने ३९ वर्षीय दिनेश खड्का छन्।
प्रहरीका अनुसार बिरबहादुरले नर्वे र डेनमार्क पठाइदिने नाममा दुई जना पीडितबाट ५ लाख १० हजार रुपैयाँ लिएका थिए। उता, दिनेशले पोर्चुगल पुर्याइदिन्छु भन्दै एक जना व्यक्तिबाट १० लाख रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीको आधारमा महानगरीय अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले मंगलबार घिसिङलाई टेकुबाट र खड्कालाई कोटेश्वरबाट पक्राउ गरेको हो।
दुवै जनालाई प्रारम्भिक अनुसन्धानपछि थप कानुनी प्रक्रिया र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया