वीरगन्ज :

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय बुटवलबाट रातारात सारियो दाङ

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

बुटवल । सशस्त्र प्रहरी लगाएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय बुटवलबाट रातारात दाङ सारिएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो ।

स्थायी संरचना नबन्दै राजधानी नसार्न नेपाली कांग्रेस र नेकपा एमालेको आग्रहको बेवास्ता गर्दै मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू सशस्त्र प्रहरी प्रयोग गरेर गएराति दाङ पुर्याइएका हुन् । कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ पुर्याइएको छ ।

कांग्रेस एमालेसँगै लुम्विनी प्रदेशमा कार्यरत कर्मचारीहरुले समेत स्थायी संरचना नबन्दासम्म कार्यसम्पादनमा बाधा पर्ने बताइरहँदा मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकाल दाङबाट सञ्चालन गर्ने भन्दै रातारात सामानहरु उठाएर लगेका हुन्।

लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा अब नयाँ प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालनको तयारी गरिएको र प्रदेशसभा भवन निर्माण कार्य पूरा भइसकेको जनाइएको छ । स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो ।

प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना लुम्बिनी सरकारको छ । राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउन लागिएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले मन्त्रिपरिषद्को कार्यालय तत्काल तयार पार्ने योजनाअन्तर्गत काम भइरहेको बताए। यहाँ साना ठूला गरी २४ वटा भवन तयारी अवस्थामा छन् । लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *