
श्रेणी : मधेस
रौतहट,२९ माघ । चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चाँदी पुलमा मंगलबार बिहान स्कर्पियो र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ना ४ च ३६९४ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुरबाट सर्लाही जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७२९ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार बाराको सिम्रौनगढ नगरपालिका–७ का सन्तोष कुशवाहाको टाउको र निधारमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
अन्य घाइतेहरूमा मौलापुर नगरपालिका–३ का सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका–५ का प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका–३ का स्कर्पियो चालक रामविनोद महतो र प्रदीप कुशवाहा रहेका छन्।
घटनामा घाइतेहरूको निधार, हात, आँखा र टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। चार जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि दोलखा जिरी नगरपालिका–४ का ट्रक चालक फुरी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया