श्रेणी : मधेस
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा चुनावी प्रचार–प्रसारका क्रममा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन् । तर उनको प्रतिबद्धता र व्यवहारबीच मेल नखाएको आरोप सार्वजनिक हुन थालेपछि स्थानीय स्तरमा चर्चा चुलिएको छ ।
रुंगटासँग सम्बन्धित उद्योगहरूमा नेपाली कामदारभन्दा भारतीय मजदुरको संख्या बढी रहेको तथ्य बाहिर आउन थालेपछि उनको रोजगारीसम्बन्धी नीति विवादमा परेको छ । श्रम क्षेत्रसँग सम्बन्धित स्रोतहरूका अनुसार रुंगटाको स्वामित्वमा सञ्चालन भइरहेको माँ दुर्गा फुड उद्योग तथा जग शक्ति स्टिल उद्योगमा कार्यरत अधिकांश श्रमिक भारतीय नागरिक रहेको दाबी गरिएको छ ।
स्थानीय युवाहरूले भने कामको खोजीमा उद्योगसम्म पुगे पनि पर्याप्त अवसर नपाएको गुनासो गरेका छन् । उद्योग नेपालमै सञ्चालन हुने, उत्पादनबाट आम्दानी स्वदेशमै हुने तर रोजगारीका अवसर विदेशी कामदारलाई दिइने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठ्न थालेको छ ।
चुनावी सभामा नेपाली युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता जनाउने रुंगटाको व्यवहार भने त्यससँग मेल नखाने आरोप लाग्दै आएको छ । स्थानीयवासीहरूका अनुसार नेपाली कामदारलाई अस्थायी काम, कम पारिश्रमिक तथा उपेक्षापूर्ण व्यवहार हुने गुनासो सुनिन थालेको छ भने विदेशी कामदारलाई प्राथमिकता दिइएको बताइन्छ ।
स्थानीय युवाहरूको भनाइमा, आफूहरू सक्षम हुँदाहुँदै पनि कामको अवसर नपाउनु अन्यायपूर्ण भएको उनीहरूको धारणा छ । उनीहरू भन्छन्, रोजगारीको अभावका कारण धेरै नेपाली युवा खाडी मुलुक, मलेसिया र भारततर्फ रोजगारी खोज्दै जान बाध्य भएका छन् ।
राजनीतिमा प्रतिबद्धता भन्दा व्यवहार महत्वपूर्ण हुने भन्दै मतदाताहरूले उम्मेदवारको कार्यशैली मूल्यांकन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । बेरोजगारी अन्त्य गर्ने नारासहित मत माग्ने तर आफ्नै उद्योगमा रोजगारी सिर्जना गर्न नसक्ने अवस्थाले मतदातामा प्रश्न खडा भएको देखिन्छ ।
आगामी निर्वाचनमा मतदाताले उम्मेदवारको भाषणभन्दा व्यवहारलाई आधार बनाएर निर्णय लिनुपर्ने धारणा बलियो बन्दै गएको छ । रोजगारी जस्तो संवेदनशील विषयमा दोहोरो मापदण्ड अपनाउने नेतृत्वप्रति जनताले जवाफदेहिता खोज्ने समय आएको स्थानीयवासीहरू बताउँछन् ।

प्रतिक्रिया