वीरगन्ज :

योजना खरिद–बिक्री आरोप निराधार रहेको जनमत पार्टीको निष्कर्ष

श्रेणी : अर्थ

6 hours
Pradeep Sah
2.7kViews
1249 Shares

जनकपुर,०६ वैशाख । मधेश प्रदेश सरकारमाथि लागेको योजना खरिद–बिक्रीको आरोप निराधार भएको जनमत पार्टीको संसदीय दलले निष्कर्ष निकालेको छ। जनकपुरमा बसेको संसदीय दलको बैठकले प्रदेशसभामा भएको अभिव्यक्ति संघीयतामै प्रहार भएको भन्दै आपत्ति जनाएको हो।

पछिल्लो समय भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले योजनाहरू खरिद–बिक्री हुने गरेको अभिव्यक्ति दिएपछि प्रदेश राजनीतिमा चर्को बहस चलिरहेको छ। त्यसको जवाफमा जनमत पार्टीको संसदीय दलले ती अभिव्यक्तिहरूलाई “संघीयता कमजोर पार्ने रणनीतिक हिस्सा” भनेको छ।

संसदीय दलका नेता महेश प्रसाद यादवले भने, “योजना खरिद–बिक्री भएको कुनै प्रमाण नहुँदा त्यस्ता आरोप लगाउनु लाखौं जनताको बलिदानबाट स्थापित संघीय प्रणालीमाथि हमला हो।”

उनका अनुसार सरकारले सञ्चालन गरेका योजनाहरूको गहन छानबिन हुनेछ। साथै, वर्तमान योजना, भावी कार्यक्रम र सरकारको समग्र काम–कारबाहीबारे मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी संसदीय दलको बैठकमा विस्तृत कार्ययोजना प्रस्तुत गर्ने छन्।

बैठकमा वन तथा वातावरणमन्त्री त्रिभुवन साहसँग सम्बन्धित विभिन्न आरोपहरूबारे पनि छलफल भएको छ। मन्त्री साहले बैठकमा मौखिक जवाफ दिए पनि संसदीय दलले लिखित जवाफ माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *