श्रेणी : BANNER
वीरगंज (पर्सा), २६ पुस / यातायात व्यवस्था कार्यालय, वीरगंज ‘सवारी शाखा’ अहिले लेखापाल विहीन बनेको छ । मधेश प्रदेशमा सबैभन्दा बढि राजस्व संकलन हुने अड्डा यातायात व्यवस्था कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी हाजिर नहुँदा लेखापाल विहीन बनेको हो ।
जनकपुर स्थित मधेश प्रदेशको अर्थ मन्त्रालयले यातायात व्यवस्था कार्यालयमा लेखापाल नपठाइदिदा सेवा दिन समस्या भएको यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखाका प्रमुख उमेश रेग्मीले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा लेखा अधिकृत १ जना, लेखापाल ३ जना तथा सह लेखापाल १ जनाको दरबन्दी रहेकोमा अहिले एकजना लेखा अधिकृत उपेन्द्र यादव मात्रै कार्यरत रहेको र उनको पनि यहाँबाट अन्यत्र सरुवा भइसकेकोले उनी दरबन्दी गए कामै ठप्प हुने बताए ।
लेखा अधिकृत उपेन्द्र यादवको यो दोश्रो पटक यातायात कार्यालयबाट अन्यत्र सरुवा भएको हो । गत वर्ष २०७८ मंसिरमै सरवा भएकोमा जनशक्ति अभाव भएकोले तत्कालीन कार्यालय प्रमुख कुशेश्वर साहको आग्रहमा यही काम गर्दै आएका थिए । त्यस पश्चात यादवको २०७९ असोजमा पुनः दोश्रो पटक सरुवा भएको हो तर फेरी जनशक्ति अभावकै कारण उनी आफ्नो दरबन्दी जान पाएका छैनन् । तर यस पटक दरबन्दी जानका लागि यादवले कार्यालय प्रमुख उमेश रेग्मीलाई लिखित निवेदन नै दिएका छन् ।
यातायात कार्यालयमा काम गरि रहँदा विना कारण आफ्नो चरित्र हत्या गर्ने गरिएको भन्दै आफ्नो दरबन्दी जानका लागि रवाना लिन लेखा अधिकृत यादवले कार्यालयमा लिखित निवेदन नै दिएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । तर उनी गए लेखा शाखाको कार्य पूर्ण रुपमा ठप्प हुने भएकोले अर्को लेखापाल, लेखा अधिकृत वा सहलेखापाल नआएसम्म यही काम गर्न आग्रह गरेर राखिएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।
उनका अनुसार विना कारण सधैं बद्नामकीको ट्याग लाग्ने यस यातायात कार्यालयमा हतपत्ती कुनैपनि कर्मचारी आउन नमान्ने गरेको रेग्मीको भनाई छ । यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखामा कार्यालय प्रमुख १ जना, अधिकृत ८ जना सहित ४५ जना कर्मचारीको दरबन्दी छ तर १८ जना मात्रै कार्यरत रहेको उनको भनाई छ । वीरगंज टाइम्स
प्रतिक्रिया