श्रेणी : मधेस
बारा,१३ पुस । भारतको मोतिहारीदेखि नेपालका अमलेखगञ्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आयातको परीक्षण सुरु भएको छ। नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार, पाइपलाइन विस्तारको सम्पूर्ण काम सम्पन्न भएपछि हाल परीक्षणस्वरूप पेट्रोल पाँच हजार पाँच सय किलोलिटर (केएल) र मट्टितेल एक हजार केएल आयात गरिएको छ।
पाइपलाइनमार्फत आयातको परीक्षण सफल भएमा आगामी जनवरी २०२५ बाट नियमित सञ्चालन सुरु गरिने योजना छ। तथापि, केही प्राविधिक तयारीहरू बाँकी रहेकाले सञ्चालन केही दिन ढिलो हुन सक्ने प्रमुख आचार्यले बताए।
पाइपलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्ज डिपोमा अत्याधुनिक भण्डारण र ढुवानी प्रणाली निर्माण गरेको छ। यसमा चार हजार एक सय केएल क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय पचास केएल क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पूर्ण स्वचालित २४ लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला समावेश छन्।
डिपोभित्रको सुरक्षाका लागि तीन हजार केएल क्षमताको फायरवाटर ट्याङ्क, फायर फाइटिङ सिस्टम र पानी तथा तेल छुट्याउने ओडब्ल्युएस प्रणाली पनि निर्माण गरिएको छ।
पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयातसँगै प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी लागतमा कमी आउने र वातावरणीय प्रदूषण घटाउने अपेक्षा गरिएको छ। साथै, भण्डारण क्षमतामा वृद्धि भई डिजेलको २४ हजार आठ सय ४० केएल र पेट्रोलको १६ हजार छ सय ३० केएल भण्डारण गर्न सकिनेछ।
यस आयोजनाले नेपालमा पेट्रोलियम पदार्थको ढुवानीमा ठूलो सुधार ल्याउँदै आयात प्रक्रियालाई थप सहज, सुरक्षित र वातावरणमैत्री बनाउने विश्वास लिइएको छ।
प्रतिक्रिया